मधेस प्रदेश समाचार

सहिदहरुको बलिदानबाट मधेश प्रदेश स्थापित भएको हो : मुख्यमन्त्री राउत

बृजमान तामाङ
राजविराज, ०५ माघ ।
मधेश प्रदेशका मुख्यमन्त्री लालाबाबु राउतले सहिदहरुको बलिदानबाट मधेशी जनताले पहिचानसहितको मधेश प्रदेश प्राप्त गरेको बताएका छन् । मधेशी सहिद प्रतिष्ठान मधेश प्रदेशद्वारा सप्तरीको राजविराजमा बुधबार चौथो बलिदानी दिवसको अवसरमा सहिद तथा घाईते परिवारलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री लालवाबु राउतले मधेशी जनताको पहिचान र अधिकारका लागि बलिदानी दिने वीर सहिद र घाईते तथा अंगभंग भएकाहरुलाई मधेश सरकारले उच्च सम्मानका लागि अहिले कन्जुस्याइँ नगरेको स्पष्ट पारे । सहिदहरुको बलिदानीबाट आज देशमा शासन व्यबस्था परिवर्तन भएको छ, मुख्यमन्त्री राउतले भने, जसले राज्यको निरंकुश ब्यबस्थालाई फ्याकेर पहिचानसहितको राज्य स्थापना गर्न प्राण दिए उनीहरुको उच्च सम्मान प्रदेश सरकारबाट निरन्तरता हुन्छ । मुख्यमन्त्री राउतले मधेश तथा बिभिन्न आन्दोलनमा सहादत सहिद परिवार र घाईतेहरुको भरणपोषण र ब्यबस्थापनका लागि प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको बताए ।

सहिद परिवार र अंगभंग तथा घाईते परिवारको ब्यबस्थापनका लागि प्रतिष्ठान स्थापना गरी काम शुरु गरिसकेका छौं, मुख्यमन्त्री राउतले भने, प्रतिष्ठानमार्फत सहित परिवारलाई रोजगारी तथा घाईते अंगभंग भएकाहरूको भरणपोषणको ब्यबस्था मधेश सरकारले गर्छ । सहिद परिवारका लागि प्रतिष्ठानमार्फत कम्तीमा १ जनालाई मासिक २३ हजार भत्ताको ब्यबस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै कार्यक्रमका प्रमुख अतिथि समेत रहेको मुख्यमन्त्री राउतले आन्दोलनका क्रममा घाईते तथा अंगभंग भएकाहरुको अझै विबरण आउन बाँकी भएको खण्डमा छिट्टै उपलब्ध गराउन आग्रह गरे ।
सहिदहरुको बलिदानीको कारण पहिचानसहितको मधेश प्रदेश स्थापना गरेको बताउँदै मुख्यमन्त्री राउतले सहिदहरुको सपना साकार पार्न मधेशी, आदिबासी जनजाति, थारु, दलित, मुश्लिम सहितका विभेद, भेदभाव र उत्पीडनमा परेका समुदायलाई शासन र प्रशासनमा सम्मान पहुँचका लागि अझै संर्घष गर्नुपर्नेमा जोड दिए । मधेश सरकारका प्रबक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र साहले मधेश प्रदेश प्राप्त गरेर सहिदको सम्मान र सपना पूरा गर्ने बाटो खुलेको भएपनि अझै सहिदको सपना पूरा भै नसकेकोले अधिकार सुनिश्चितताको लागि एकताबद्ध भएर आन्दोलन गर्नु आबश्यक रहेको बताए ।
जसपा मधेश प्रदेश समितिका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादवले मधेश प्रदेश स्थापनाले पहिचानबादीहरुलाई उत्साहित बनाएको बताए । उनले मधेश प्रदेश स्थापना गरेकोप्रति सरकार र प्रदेश सभा सदस्यहरुहरुलाई धन्यवाद व्यक्त गरे ।
मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा संचार मन्त्री एवम् मधेशी सहिद प्रतिष्ठानका अध्यक्ष भरत प्रसाद साहको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय सभा सदस्य एवम् पूर्व मन्त्री मृगेन्द्र सिंह यादव, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, प्रदेश सभा सदस्य मनिस सुमन, गिता यादव लगायतले मन्तव्य व्यक्त गरे ।

यसैगरी सहिद परिवारका राम नरेश राय, आन्दोलनका घाईते मंसि पटेल, जिल्ला समवन्य समिति सप्तरीका प्रमुख प्रभाकर यादव, पूर्व मन्त्री एवम् माओवादी केन्द्र सप्तरीका अध्यक्ष उमेश कुमार यादव, जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार प्रसाद यादव, नेपाली कांग्रेस सप्तरीका अध्यक्ष एवम् केन्द्रिय सदस्य दिनेश कुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टी सप्तरीका अध्यक्ष सुनिल झा, एकीकृत समाजवादी पार्टी सप्तरीका अध्यक्ष प्रताप नारायण चौधरी लगायतकाले समेत मन्तव्य व्यक्त गरे ।
प्रदेश आम संचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवद्वारा संचालित कार्यक्रममा स्वागत राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले गरे ।

कार्यक्रममा मधेश आन्दोलनको क्रममा सहादत प्राप्त ५७ जना सहिद परिवारलाई जनही ३ लाखको चेक हस्तान्तरण तथा सिरक, सम्मान–पत्र, दोसल्लाद्वारा सम्मान गरिएको थियो भने घाईते तथा अंगभंग भएकाहरुलाई २५ हजार देखि ३ लाखसम्मको चेक, सम्मान–पत्र, दोसल्लाले सम्मान गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page