बृजमान तामाङ /
राजविराज, २३ माघ । तामाङ समुदायको राष्ट्रिय साँस्कृतिक पर्व २८५८ औं सोनाम ल्होछार (ताक ल्हो) ज्ञानको उपदेशकर्ता महामन्जुश्रीको पूजा आराधना गरि टीका सम्पन्न गरिएको छ ।
माघ शुक्ल प्रतिपदा सोनाम ल्होछारको पहिलो दिन कुलदेवताको पूजा गरि प्रसादको रुपमा लगाईने टीका पाँच दिनपछि महामन्जुश्रीको पूजा आराधना गरि आज (आइतबार) बिधिवत रुपमा सम्पन्न गरिएको हो ।
तामाङ समुदायले ल्होछारको शुभसाईतमा लगाएको टीका महामन्जुश्री तिथि वसन्त पन्चमी अर्थात पृथ्वीको पहिलो खगोलशास्त्री चौरासी हजार धर्म देशना गर्नुहुने ज्ञानको उपदेशकर्ता बोधिसत्व मन्जुश्रीको पूजा आराधना गरि ल्होछारको टीका सम्पन्न गरिएको नेपाल तामाङ घेदुङ सप्तरीका सचिव सूर्यमान तामाङले बताउनुभयो ।
पाँच दिनसम्म मान्यजनहरुको हातबाट टीका, खादा लगाएर आशीर्वाद थापी मनाईने ल्होछारको टीका (ज्याम्यङ) महामन्जुश्रीको घरघरमा पूजा गरि टिकाको कार्यक्रम बिधिवतरुपमा सकिएको उहाँले जानकारी दिनुभयो ।
तामाङ समुदायले राष्ट्रिय पर्वको रुपमा मनाउने सोनाम ल्होछार पर्वमा आफान्ताहरु भेला हुने मान्यजनहरुको हातबाट टिका खदा लगाई आशीर्वाद थाप्ने मीठो परिकार बनाएर खाने परम्परा रहेको छ । ल्हो अर्थात सम्बत फेरिने भएकोले तामाङ समुदायले ल्होछारलाई नयाँ वर्षको रुपमा पनि मनाउने गरेको नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ ।
सोनाम ल्होछारको पाँचौ दिन ज्ञानका खानी बोधिसत्व मन्जुश्री वर्षमा किसानहरुले आआफ्नो जमिनमा बीउ रोप्ने मान्यता अनुसार हलोजोत्ने गरिन्छ । महामन्जुश्रीलाई बौद्ध धर्मावलम्बीलेहरुले ज्याम्यङरज्यामवाङ याङ भनेर बोधिसत्वको रुपमा मान्ने गरेको नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य भिम घिसिङले बताउनु हुन्छ ।
२८५८ वर्ष अगाडि आजैको दिन महामन्जुश्रीले काठमाडौ उपत्यकाको चोभारमा पानी कटान गरेर शम्भुको दर्शन गरेको इतिहास रहेको उहाँले जानकारी दिनुभयो । त्यही शम्भुको पश्चिम पट्टीको डाँडांमा मन्जुश्री गुम्बा रहेको छ जसलाई हिन्दु धर्मावलम्बीले सरस्वती मन्दिर मानेर बोली नफुटेका बालबालिका हरुलाई र बोल्न सक्ने बालबालिकाहरुलाई विधालय भर्ना गर्ने तथा दर्शन गराउने चलनको विकास भएको ईतिहासविदहरुको भनाई छ ।
हिन्दु धर्मावलम्बीले मान्ने सरस्वती बौद्ध धर्ममा ज्याम्याङ अर्थात ज्ञानका खानी बोधिसत्व मन्जुश्रीलाई मान्ने गरेको नेपाल तामाङ घेदुङका महासचिव मोहित कुमार घिसिङ (बाबू घिसिङ) ले बताउनुभयो ।
Add Comment