अर्थतन्त्र

समुदायका लागि सुरक्षित खानेपानी कार्यक्रमको सामाजिक लेखा परीक्षण सम्पन्न

उत्तम आचार्य /
कञ्चनरुप, २६ माघ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ४ स्थित जगतपुरमा सञ्चालनमा आएको समुदायका लागि सुरक्षित खानेपानी कार्यक्रमको सामाजिक लेखा परीक्षण सम्पन्न भएको छ । बुधवार जगतपुर स्थित रहेको आधारभूत विद्यालयको प्राङ्गणमा सामाजिक लेखा परीक्षण सम्पन्न भएको हो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले सुरक्षित खानेपानी आयोजनामा सहयोग गर्नुहुने सम्पूर्ण सस्बन्धित निकायहरुलाई धन्यवाद दिँदै यो सुरक्षित खानेपानी आयोजना हाम्रो लागि हो र यस आयोजनाको रेखदेख गर्ने जिम्मेवारी पनि हाम्रै रहेको बताउनु भयो । उहाँले पालिकाबाट गर्नुपर्ने सम्पूर्ण सहयोगहरु गर्न गराउन समेत प्रतिबद्धता जगाउनुभयो ।
अरुणेदय युवा कल्ब टिम लिडर वेद प्रकाश रौनियारले यस कार्यक्रमले मुख्य गरी क्षमता अभिबृद्धि तथा सामाजिक परिचालन, खानेपानी आयोजना निर्माण तथा सुरक्षित खानेपानी समुदाय घोषणा गरी तीन वटा मुख्य उदेश्य पुरा गर्न विभिन्न क्रियाकलापहरु सञ्चालन गरिएको समेत जानकारी गराउनुभयो ।
यस आयोजनाबाट प्रमुख रुपमा स्वास्थ्य संस्था १, वडा कार्यालय १, विद्यालय १ र १ सय ७४ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भइरहेको समेत उहाँले जानकारी गराउनुभयो । २०७८ साल फागुन ९ गते सुरक्षित खानेपानी समुदाय घोषणा गर्ने समेत रौनियारले जानकारी गराउनुभयो ।

कुल लागतको १० प्रतिशत समुदायको जनश्रमदान, १५ प्रतिशत नगरपालिकाको नगद र जिन्सि तथा ७५ प्रतिशत युनिसेफ नेपालको सहयोगमा जम्मा ८० लाख ३० हजार ९ सय ३७ रुपियाँको लागतमा खानेपानी आयोजना सम्पन्न भएको रौनियारले बताउनुभयो ।
सुरक्षित खानेपानी सञ्चालनमा आएपछि जगतपुरबासीमा खुशीयाली छाएको छ । योजना चलायमान राख्न एउटा अर्को थप बोरिङ्ग समेत गर्न स्थानियले माग गरेका छन् ।
कार्यक्रममा युनिसेफका अन्नपूर्ण मिश्र, बास कोओडिनेटर रोशन गुप्ता, उपभोक्ताहरु र सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page