स्वास्थ्य

तीन दिने निशुल्क आँखा शिविरको उदघाटन , पहिलो दिन १८५ जना बिरामीहरुको मोतिबिन्दुको शल्यक्रिया

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी), १४ फागुन ।
कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुप १२ रुपनगर सप्तरीमा शनिवारबाट तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौँका वरिष्ठ चिकित्सकहरुद्वारा अप्रेशनसहित तीन दिने निशुल्क आँखा शिविरको उदघाटन भएको छ ।
आँखा शिविरको उदघाटन गर्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले स्वस्थ जीवन नै मानिसको अमूल्य सम्पत्ति रहेको हुँदा आँखा जस्तो संवेदनशिल अङ्गको अप्रेसन सहित निशुल्क रुपमा आँखाको शिविर सञ्चालन हुनु नगरबासीको लागि ठुलो उपलब्धि भएको बताउनुभयो । उहाँले यस शिविरमा सहयोग गर्ने तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौँ, आँखा शिविर ल्याउन सहयोग गर्नुहुने डा. प्रेमलाल श्रेष्ठ, स्वास्थ्यकर्मीहरु, कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रलाई धन्यवाद समेत दिनुभयो ।

कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा तिलगंगा नेत्र प्रतिष्ठानको शाखा (युनिट) राख्न आफूले सक्दो सहयोग गर्ने समेत नगर प्रमुख मिश्रले बताउनु भयो ।
पूर्व डिआइजी डा. प्रेमलाल श्रेष्ठले सेवा नै धर्म भएकाले आफूले समाजमा केही गरौँ भन्ने उदेश्यका साथ यस भेगका गरिब दुखी असाय व्यक्तिहरुले घरमै बसेर निशुल्क रुपमा स्वास्थ्य सेवा पाउन भनेर केही वर्षदेखि तिलगंगा नेत्र प्रतिष्ठानसँग समन्वय गरी कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र रुपनगरमा निशुल्क रुपमा आँखा शिविर सञ्चालन गरेको बताउनु भयो ।

अल हर्मिन एकेडेमि सोसाइटी नेपालका डाइरेक्टर अमिर जफर मदनी, डा. सृजना अधिकारी लगायतका वक्ताहरुले स्वस्थ जीवननै सृजनशिल हुने भएकाले स्वस्थ रहन सरसफाइ र खानपीनमा विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताउनुभयो ।
आँखा शिविरमा तिलगंगा नेत्र प्रतिष्ठानका डा. सृजना अधिकारी, डा. सागर रुइत, डा. कृपा लोप्चन, डा. प्रविन यादव लगायतका वरिष्ठ चिकित्सकहरुद्वारा सेवा प्रदान गरिएको उपचार केन्द्रले जनाएको छ ।

यस अघि तीन पटक कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क आँखा शिविर सञ्चालन भइसकेको छ । पहिलो पटक ५ सय जनाले , दोस्रो पटक १ हजार १८ जनाले र तेस्रो पटक ७ सय ८९ जनाले निशुल्क आँखा शिविरबाट अप्रेसन सहित आँखाको उपचार गराई लाभ लिइसकेको र आजबाट चौथो पटक शिविर सञ्चालन भइरहेको छ जस्मा शिविरको पहिलो दिन ८ सय जनाको आँखाको चेकजाँच गरिएकोमा १ सय ८५ जनामा मोतियाविन्दु देखिएको थियो । एक सय ८५ जना मोतिबिन्दुको बिरामीहरुको शल्यक्रिया गरि उपचार गरिएको उपचार केन्द्रले जनाएको छ ।

यस निशुल्क आँखा शिविरमा सप्तरी, सिरहा, सुनसरी, उदयपुर जिल्ला र छिमेकी राष्ट भारतबाट समेत आई उपचार गराएर स्वास्थ्य लाभ लिइरहेको जनाइएको छ ।
स्वागत मन्तव्य कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका संरक्षक प्रा. डा. रोहित कुमार पोखरेलले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक प्रमोद कटुवालले गर्नुभएको थियो । कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा उदघाटन सत्र सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page