समाचार

छोरीमाथि हुने विभेदको अन्त्य नभएसम्म समाजको रुपान्तरण गर्न कठिनाई हुने : नगर प्रमुख मिश्र

उत्तम आचार्य /
कञ्चनरुप, २४ फागुन ।
सामाजिक न्याय र लैङ्गिक समानता ; दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा, महिला तथा बालबालिका शाखाले मंगलवार नगरपालिकाको प्राङ्गणमा ११२ औं अन्तराष्ट्रिय महिला दिवश विभिन्न कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले छोरीमाथि हुने विभेदको अन्त्य नभएसम्म समाजको रुपान्तरण गर्न कठिनाई हुने बताउनु भयो । उहाँले शिक्षामा पहुँच नभएकै कारण मानिसहरु पछि पर्ने भएकाले अभिभावकले आफ्ना बालबालिकालाई छोरा र छोरीमा भेदभाव नगरी उच्च शिक्षासम्म अध्ययन गराउनु पर्नेमा जोड दिनुभयो । खासगरी महिलाहरुले शिक्षा र स्वास्थ्यमा विशेष ध्यान पुर्‍याउन आवश्यक रहेको उहाँले बताउनु भयो ।

प्रमुख प्रशासकिय अधिकृत रेणुका साहले उच्च शिक्षा हासिल गरेको महिलाले त आफ्नो अधिकार सुनिश्चित गर्न लामो समय पर्खनुपर्ने अवस्था छ भने नपढेका महिलाहरुको हालत के होला ? भनेर प्रश्न गर्दै जबसम्म मानिसमा सकारात्मक सोचको विकास हुँदैन तबसम्म समाजको परिवर्तन असम्भव रहेको बताउनु भयो ।
वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले महिलाहरुले पाएको अधिकारको खबरदारी गर्न यस दिवसले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनु भयो । प्रेस सल्लाहकार उत्तम आचार्यले नारी र पुरुष बीचको खाडल, विभेद, हिंसा र असमानता व्यवहारबाटै अन्त्य नगरेसम्म सक्षम समाजको परिकल्पना गर्न नसकिने भएकाले त्यसको अन्त्य गर्न पितृसत्तात्मक सोच, अशिक्षा र अज्ञानताको प्रतिबिम्ब र परिवर्तनको सेवाहक हो उचित शिक्षा न नारीवादी नपुरुषवादी सबैलाई समान रुपमा हेर्नै एकमात्र सिद्धान्त मानवतावादी दृष्टिकोणबाट व्यवहार परिवर्तन गरेमा असल समाज निमार्ण हुने बताउनु भयो ।

पशुपंक्षी विकास शाखाका प्रमुख दिवाकान्त चौधरी, उद्यम विकास इकाइकी चाँदनी लेखी, सल्लाहकार खिलानाथ पोखरेल, वडा सदस्य लक्ष्मी श्रेष्ठ, सृजनात्मक महिला सहकारीकी अध्यक्ष सविता न्यौपाने, नवदुर्गा महिला सहकारीकी अध्यक्ष इश्वरी पोखरेल, नगर बाल सञ्जालका अध्यक्ष हरी साह, सर्वोदय माविका प्रधानाध्यापक ताराकान्त मल्लिक, उद्यमी महिला चनरदेवी राम लगायतका वक्ताहरुले अधिकारलाई सहिरुपमा सदुपयोग गर्दै नारीमाथि उचित सम्मान हुनुपर्नेमा जोड दिनुभएको थियो ।
फागुन १९ गतेबाट माध्यमिक तह(सामुदायिक तर्फ) छात्र,छात्राहरुबीच नगर स्तरिय वक्तृत्वकला प्रतियोगिता, लागूपदार्थ सेवन बिरुद्ध नगर बाल संजालका सदस्यहरुलाई सचेतनामूलक कार्यक्रम, बाल बिवाह बिरुद्ध सडक नाटक र नगर बाल संजालका सदस्यहरु माझ हाजिरि जवाफ प्रतियोगिता गरी ११२ औं अन्तराष्ट्रिय महिला दिवस आज सम्पन्न गरिएको सामाजिक विकास शाखाकी अधिकृत भावना घिमिरेले बताउनु भयो ।

हाजिरी जवाफ प्रतियोगितामा हरि साह प्रथम, बिशाा राम र उत्सव थापा मगर द्वितिय, रुपकान्त यादव र स्वरुपलाल संग तृतिय भएका थिए भने वक्तृत्वकला प्रतियोगितामा महेन्द्र जनता माध्यमिक विद्यालय बलुवा सितापुरकी सुनिता कुमारी दास प्रथम, शंकर माध्यमिक विद्यालय रुपनगरकी नेहा शर्मा द्वितिय, सर्वोदय मावि कंचनपुरका श्रवण कुमार राम तृतिय र लक्ष्मी नारायण मावि वैरवाकी किरण साह सान्तवना भएकी थिइन् ।

विजयी प्रतियोगिहरुलाई प्रमाण पत्र र पुरस्कार दिएर सम्मान गरिएको थियो । त्यसैगरी लघुउद्यममा उत्कृष्ट कार्य गर्ने कञ्चनरुप ५ की चनरदेवी राम, कञ्चनरुप ११ की रेखा कुमारी धामी र मनिता मगरलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै एक एक थान थर्मस समेत प्रदान गरिएको थियो ।
स्वागत मन्तव्य सामाजिक विकास शाखाकी प्रमुख सुशिला कुमारी चौधरीले गर्नुभएको थियो भने प्रमुख प्रशासकिय अधिकृत रेणुका साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page