समाचार

बरमझियाको ऐतिहासिक पेडा महोत्सव विभिन्न कार्यक्रमबीच सम्पन्न

डम्बर राई /
कञ्चनरुप (सप्तरी) ।
सप्तरकिो कञ्चनरुप नगरपालिका ३ स्थित बरमझियामा आयोजित दुइ दिने ऐतिहासिक पेडा महोत्सव विभिन्न कार्यक्रम बीच सोमवार सम्पन्न भएको छ ।
यहाँका परम्परागत पेडा व्यवसायलाई आधुनिकीकरण गर्ने, स्थायिकरण गर्ने, विस्तार गर्ने र आफ्नो पहिचानलाई अगाडी बढाउने उद्घेश्यका साथ नगरपालिकाले आयोजना गरेको महोत्सवमा भाग लिइएका पेडा व्यवसायिहरुमध्ये २० वटाले स्टल स्थापना गरेका थिए ।
राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिम्सीनाद्वारा आइतवार उदघाटन गरीएको सो महोत्सवको समापन समारोहमा माननिय साँसद तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य सरीता गीरी यादवले बरमझियाको पेडा व्यवसायलाई प्रोत्साहन तथा उर्जाको आवश्यकता रहेको बताउनुभयो । अन्य व्यवसायको वैकल्पिक उर्जाकोरुपमा स्थापित बनेको पेडा व्यवसायलाई आधुनिकिकरणमा स्तररोन्नती गर्न आवश्यक छ वहाँले भन्नुभयो, यसका लागि तीनै तहका सरकारको सहयोग अपरिहार्य छ ।

समारोहको अध्यक्षता गर्नुभएको नगर प्रमुख बसन्त कुमार मिश्रले बरमझियाको पेडाले नगरको शानमान मात्र होइन आय आर्जनमा पनि ठूलो टेवा पुर्याएको बताउनुभयो । स्थायी व्यावसायिक रुपमा संचालनमा आएका यहाँका तमाम व्यवसायी र यो संग जोडिएका किसानहरुलाई आफु नगर प्रमुख रहुन्जेल वा पदमा नरहेर पनि आफुले जानेको सर सल्लाह र सहयोग दिनेछु नगर प्रमुख मिश्रले बचन बद्घता गर्नुभयो । वडा नम्वर ३ का वडाध्यक्ष सत्य नारायण साहले यहाँको पेडा नेपालको सबै ठाउमा दिनहुँ जसो पुगेकै छ र भारतबाट पनि पेडा खान र लैजान आउने गरेको जानकारी दिनुभयो ।

महोत्सव समापन समारोहमा बैजनाथ बाबा, जय माता दी बुढो बाबा, सप्तकोशी पुरानो बुढोको, बरमझिया पुरानो बाजेको, पुरानो ॐ बैधनाथ, पुरानो बैधनाथ प्रशिद्घ, सप्तकोशी बुढो बाजेको, पण्डित पेडा भण्डार, पुरानो बाबा बेधनाथ, श्रीकृष्ण पुरानो प्रशिद्घ, पुरानो सप्तकोशी लगायत पेडा भण्डारलाई सम्मान गरिएको छ । विभिन्न विद्यालयका भाइ बहिनीहरुले गीत र नृत्य प्रस्तुत गरेर सहभागीहरुलाई हर्षोल्लास गराएका थिए ।

ढिलै भएपनि नगरपालिकाले महोत्सवको आयोजना गरेर हामी पेडा व्यावसायीहरुको मनलाई छुन सक्नुभएकोमा नगर प्रमुख, जनप्रतिनिधि एवं नगरपालिकालाई पेडा व्यवसायी संयोजक राज कुमार साहले धन्यवाद ज्ञापन गनुभयो । पेडा व्यवसायलाई माथि उठाउन जुन प्रयत्नको सुरु नगर प्रमुख मिश्रबाट भयो यो अब निरन्तर अघि बढ्नेमा विश्वास लिइएको छु साहले भन्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page