उत्तम आचार्य
कञ्चनरुप सप्तरी, ६ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेस र उप प्रमुखमा काँग्रेसकै उम्मेदवार विजयी हुनुभएको छ ।
नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार ललनप्रसाद गुप्ता र उप प्रमुखमा काँग्रेसकै उम्मेदवार मुनाकुमारी पोखरेल विजयी हुनुभएको हो ।
गुप्ताले ७ हजार ८८९ मत प्राप्त गरी निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालय कञ्चनरूपले जनाएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जसपाका भोलाकुमार पासवानले ५ हजार ७०४ मत ल्याउनु भएको छ भने नेकपा एमालेका मो कलिम मियाँले ५ हजार २०५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै निर्वाचित उपप्रमुख पोखरेलले ७ हजार ७४ मत ल्याउनु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी कल्पना चौधरीले ५ हजार ५ सय ४७ मत प्राप्त गर्नुभएको छ ।
१२ वटा वडा रहेको कञ्चनरुपमा १२ वटै वडाको मत परिणाम आउँदा एमालेले ४, काङ्ग्रेसले ५ र जसपाले ३ वटा वडामा जित हासिल गरेको छ ।
जसमा वडा नम्बर १ मा जसपाका रब्बान खान, वडा नम्बर २ मा नेपाली काँग्रेसका मेहदी हुसेन, वडा नम्बर ३ मा नेकपा एमालेका गुल्टेन चौधरी, वडा नम्बर ४ मा काँग्रेसका जोगेन्द्र पासवान, वडा नम्बर ५ मा काँग्रेसका कैलाशकुमार साह, वडा नम्बर ६ मा नेकपा एमालेका बच्चुलाल चौधरी, वडा नम्बर ७ मा काँग्रेसका समानन्द चौधरी, वडा नम्बर ८ मा कृष्णप्रसाद साह , वडा नम्बर ९ मा जसपाका रामसुन्दर यादव, वडा नम्बर १० मा जसपाका दामोदर खड्गा, वडा नम्बर ११ मा नेकपा एमालेका ललित गोजेवार र वडा नम्बर १२ मा नेकपा एमालेका देवी बहादुर खत्री विजयी भएका छन् ।
Add Comment