खेलकुद

मकवानपुर गोल्डकप : पुलिसलाई हराउँदै विजय यूथ क्लब हेटौँडा फाइनल प्रवेश

हेटौँडा । नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजय यूथ क्लब हेटौँडा मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मकवानपुरस्थित पिप्ले क्याम्पा रंगशालामा जारी चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार पुलिस क्लबलाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय यूथ क्लब फाइनलमा प्रवेश गरेको हो ।
विजय युथलाई फाइनलमा पुर्‍याउन जर्सी नम्बर ३ का पेपेले गरेको गोल नै निर्णायक बन्यो। खेलको म्यान अफ दि म्याच घोषित हुँदै उनले १० हजार नगद प्राप्त गरे ।
अब विजय युथले उपाधिका लागि सोमबार त्रिभुवन आर्मी क्लब र अन्तर्राष्ट्रिय क्लब क्यामरुनको एभेनिर एफसी डोउलाबीचको विजेतासँग खेल्नेछ। आर्मी र एभेनिरबीचको सेमिफाइनल खेल शनिबार हुँदैछ।
प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । विजेताले उपाधिसँगै १५ लाख रुपैयाँ नगद र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट हुने खेलाडीलाई पनि २५ हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

   

You cannot copy content of this page