कञ्चनरुप (सप्तरी), ८ असार । सशस्त्र प्रहरीले सप्तरीबाट आज (बुधबार) १७५ किलो अवैध गाँजा बरामद गरेको छ ।
पूर्व–पश्चिम राजमार्गमा सुरक्षा वेश भारदहबाट खटिएको टोलीले जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी व्यारेज चेक प्वाइण्टबाट १७५ किलो गाँजा, ३५० किलो अदुवासहितको ट्रक बरामद गरेको जनाएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रक सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ नेतृत्वको टोलीले चेकजाँच गर्दा अवैध सामान बरामद भएको हो । चेकजाँचका लागि ट्रक रोक्दा चालक र सहचालक फरार भएका सशस्त्र प्रहरी निरीक्षक तामाङले बताउनु भयो ।
बरामद ट्रकसहितको गाँजा र अदुवा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको उहाँले बताउनु भयो ।
भारत निकासीका लागि गाँजा तस्करहरूले सप्तरी, सिरहा, सुनसरीको बाटो प्रयोग गर्दै आएका छन् । खुल्ला सीमाको फाइदा उठाउँदै गाँजासँगै सुपारी, छोगडा, स्याउ, मदिरा, केराउको अवैध कारोवार हुने गरेको स्थानीय बताउँछन् ।
Add Comment