काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभर हर्षोल्लासपूर्वक मनाइँदै छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।
यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गर्दछन् ।
यस अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ ।
यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् ।
कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यसै अनुसार आज पहिलो दिनको बकर ईद मनाइएको छ ।
यसैबिच इदको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित विभिन्न नेताहरुले शुभकामना सन्देश दिएका छन् ।
Add Comment