समाचार

उर्मिला झा स्मृति पुरस्कारबाट मैथिली भाषाकी लोकगायिका प्रिया पुरस्कृत

राजविराज, ८ साउन । मैथिली भाषाकी लोकगायिका सप्तरीको तिरहुत गाउँपालिका–१ की मुनचुन देव प्रिया पुरस्कृत हुनु भएको छ ।
मधुश्रावणी पर्वका अवसरमा मैथिली महिला परिषद्द्वारा राजविराजस्थित मैथिली भवनमा आज आयोजित कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाद्वारा स्थापित उर्मिला झा स्मृति पुरस्कारबाट प्रिया पुरस्कृत हुनुभएको हो ।
पुरस्कृत गायिका एवम् रेडियोकर्मी प्रियालाई सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सम्मानपत्र, मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईले नगद पुरस्कार र पुरस्कारका सँस्थापक झाले दोसल्ला ओढाउनु भयो । पुरस्कारको राशी २ हजार पाँच सय रुपियाँ रहेको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले धर्म, सँस्कार, सँस्कृति र मातृभाषालाई जोगाउन महिलाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ ।
मधुश्रावणी पर्वका अवसरमा मैथिली महिला परिषद्द्वारा राजविराजस्थित मैथिली भवनमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । प्रमुख जिल्ला अधिकारी गौतमले जीवनउपयोगी सँस्कारलाई जिवित राख्दै समाजमा विद्यमान ढोंगी कुप्रथा, कुरिती, बिकृति हटाउन महिलाहरू अगाडि बढनु पर्ने बताउनु भयो ।
मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरी भट्टराईले हरेक चाडपर्वले झै भाषासँस्कृतिले समाजलाई जोड्ने बताउनु भयो । भट्टराईले परिवारमा स्नेह, दाम्पत्य जीवन सुखमय बनाउन र विविधितायुक्त समाजलाई जोड्न चाडपर्वहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो ।

सगरमाथा साहित्य परिषद्का अध्यक्ष मनोहर पोखरेलले मनोरञ्जन, बालपन र खुलापनको आभाष प्रदान गर्ने मधुश्रावणी पर्व दाम्पत्य प्रेम, पारिवारिक कर्तव्यबोध, सेवा, सहिष्णुता, सहयोग, समर्पण, काम र जीवनोपयोगी शिक्षा दिने उत्कृष्ट पर्व रहेको बताउनु भयो । कतिपय कुरितीलाई हटाउँदै चाडपर्वलाई जीवनसँग जोडेर सिर्जनात्मकताका आधारमा असल सँस्कृतिको जगेर्ना गर्नुपर्ने उहाँले बताउनु भयो ।
मैथिली साहित्य परिषद्की आजिवन सदस्य गायिका उर्मिला झाको चार वर्ष अघि मधुश्रावणी पर्वकै समयमा विराटनगरमा भएको दुर्घटनामा मृत्यु भएको थियो । झाकै स्मृतिमा उहाँका जेठाजु प्रेस स्वतन्त्रता सेनानी झाले तीन वर्षदेखि पुरस्कार वितरण गर्दै आउनु भएको छ ।

मैथिली महिला परिषद्की अध्यक्ष शान्ति झाको अध्यक्षतामा आयोजित कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्षहरू बिष्णु मण्डल, विवेकानन्द मिश्र, शुभचन्द्र झा, मैथिली महिला परिषद्की संस्थापक अध्यक्ष मिना ठाकुर, मिलापकी अध्यक्ष रमिला साह, प्रतिमा देवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा पुरस्कृत प्रिया, बन्दना मिश्रा, बिमल देब, किरण झा, बिद्या मिश्रा, रमिला साह, रीता देवले मधुश्रावणी सम्बन्धी गीत सुनाउनु भयो भने सत्येन्द्रनाथ चौधरीले कविता वाचन गर्नुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page