समाज

अधिकारकर्मीहरूले राजविराज कारागारका महिला बन्दीहरूसँग मनाए तीज

राजविराज, १३ भदौ । राजविराज कारागारभित्र रहेका महिला कैदीबन्दीहरूलाई सोमबार सामूहिक रूपमा दर खुवाएर अधिकारकर्मीहरूले तीज मनाएका छन् ।
तीज महोत्सव मूल समारोह समिति सप्तरीका पदाधिकारी र अधिकारकर्मीहरूसँगै कारागारका कैदीबन्दी महिलाहरूले दर खाएर तीज मनाएका हुन् ।
गत वर्ष झै कारागार पुगेको तीज महोत्सव मूल समारोह समितिका पदाधिकारीहरूले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको सृङ्गारका सामान दिएर तीजको खुशी साटासाट गरेको कारगार प्रमुख किशोर रामले जानकारी दिनुभयो ।
कारागारका महिला बन्दी गृहमा पुगेर महिला कैदीबन्दीहरूलाई दर स्वरूप मिठाई खुवाउनुका साथै सृङ्गारका सामान प्रदान गरिएको हो ।

उक्त अवसरमा कारगारमा कार्यरत महिला कर्मचारी र महिला प्रहरीलाई समेत मिठाई र सृङ्गारका सामान प्रदान गरिएको छ । अधिकारकर्मीहरूले कैदीबन्दीको समस्याका बारे जानकारी समेत लिएका छन् । जम्मा १ सय ५५ क्षमता भएको कारागारमा हाल १६ महिला, १ आश्रित बालक र ३ सय ७१ पुरुष कैदीबन्दी छन् ।
सामूहिक रूपमा अधिकारकर्मीहरूले सम्झेर आउँदा उत्साहित र भावुक देखिएका महिला कैदीबन्दीले अधिकारकर्मीहरूलाई धन्यवाद र आशीर्वाद दिए । वर्ष दिनको पर्व मनाउन पाउनु सबैको अधिकार भएकोले बाहिर निस्केर तीज मनाउन नपाएका महिलाहरूसँग खुसि साटासाट गर्न कार्यक्रम गरिएको एकल महिला समूहकी प्रदेश अध्यक्ष अनीता देवकोटाले जानकारी दिनुभयो ।

तीजका वेला कोही दिदीबहिनी पनि माइती सम्झेर निन्याउरो भएर बस्नु नपरोस् भन्ने सन्देश दिन विगत केही वर्षदेखि अधिकारकर्मीहरुले कारागारका महिला बन्दीहरुसँग तीज मनाउन थालेको इन्सेक प्रतिनिधि मनोहर पोखरेलले बताउनु भयो ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी गीता पाण्डे, पत्रकार पुनम पोखरेल, महिला शिक्षक रत्ना गुरुङ, मेची महाकाली बुहारी संयुक्त आवाजकी मीरा गुरुङ, सामाजिक कार्यकर्ता उमेश यादवलगायतको सहभागिता रहेको थियो । कैदीबन्दीका लागि मिठाईको प्रबन्ध सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालु अग्रवालले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page