समाज

सप्तरीमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु, दुई घाइते

सप्तरी, २५ पुस । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडक खण्डमा रोकिराखेको टिप्परमा दुईवटा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
खडक नगरपालिका–११ स्थित वडा कार्यालयदेखि दुई सय मिटर पूर्व हुलाकी सडक खण्डमा बोदे बर्साइन नगरपालिकाबाट राजविराजतर्फ आउँदै गरेको बा ८ प ३२१५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४प ८६१९ नम्बरको मोटरसाइकल बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिप्परमा ठोकिँएका थिए।
दुर्घटनामा परी बा ८ प ३२१५ नम्बरको मोटरसाइकलका चालक खडक नगरपालिका–११ बनौलीका २० वर्षीय बैजु भनिने बैजनाथ चौधरी र अर्को ८६१९ नम्बरको मोटरसाइकलमा सवार डाक्नेश्वरी नगरापलिका–१० का २२ वर्षीय रामाकान्त चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।
३२१५ नम्बरको मोटरसाइकल पछाडि सवार खडक–११ बनौलीका २२ वर्षीय बुधन चौधरीको गाला र हात खुट्टामा चोट लागेको छ। उनको स्थानीय युनिभर्सल अस्पतालमा उपचार भइरहेको छ।
अर्को ८६१९ नम्बरको मोटरसाइकल चालकका छोरा २२ वर्षीय सुमनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ। उनलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ।
टिप्परको मर्मतपश्चात प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरीक्षक राजु अधिकारीले बताउनुभयो । मोटरसाइकल र टिप्पर चालक प्रहरी नियन्त्रणमा छन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page