उत्तम आचार्य –
कञ्चनरुप, २६ पुष । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ६ स्थित घोघनपुरमा रहेको घोघनपुर साना किसान कृषि सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
सहकारी संस्थाकी अध्यक्ष रिखी माया थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा कञ्चनरुप नगरपालिकाका नगर–प्रमुख ललन प्रसाद गुप्ताको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै नगर–प्रमुख गुप्ताले सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताउनुभयो । सदस्यहरुको एकताले नै संस्था अमर हुने उहाँको भनाई थियो । सहकारी संस्थामार्फत समुदायका सदस्यको आर्थिक श्रीबृद्धिमा ठूलो टेवा पुगेको बताउनु भयो। उहाँले सहकारी र सरकारी निकाय बीचको सहकार्यले समुदायका सदस्यको आर्थिक विकासमा टेवा पुग्ने भएकोले कञ्चनरुप नगरपालिका सहकारी संस्थासंग सहकार्य गर्न तयार रहेको बताउनुभयो। आर्थिक क्षेत्रको विकास लागि सहकारी संस्थाहरुको योगदान महत्वपुर्ण रहँदै आएको नगर प्रमुख गुप्ताले वताउनुभयो ।
उप–प्रमुख मुना कुमारी पोखरेलले समाजलाई परिवर्तन गर्न सहकारीले आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारी नाफामुखी नभई सेवामुखि भई जनताको सुख दुखमा साथ दिनुपर्ने बताउनु भयो ।
वडा नम्बर –६ का वडा अध्यक्ष बच्चुलाल चौधरीले आगामि दिनमा सहकारी र नगरपालिकाले हातेमालो गर्दै विकास निर्माण र यस क्षेत्रको उत्थानका लागि सँगसँगै अघि बढ्नुपर्ने धारण व्यक्त गर्नुभयो । उहाँले सहकारीले समाजको हरेक क्षेत्रमा राम्रो काम गरी नमूना बन्नुपर्नेमा जोड दिनुभयो ।
वडा नम्बर –७ का वडा अध्यक्ष समानन्द चौधरी, साना किसान कृषि सहकारी संघका जिल्ला अध्यक्ष बलराम यादव, वडा नम्बर ६ र ७ का पूर्व वडाअध्यक्ष मो. जिवरील, हरिकृष्ण महतो, माधव चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
आर्थिक वर्ष २०७८–०७९ को आयव्यय प्रस्तुत संस्थाको अध्यक्ष रिखी माया थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य सुनिल साहले गर्नुभएको थियो ।
सो कार्यक्रममा ३ करोड ४८ लाख २४ हजार ९२ रुपियाँ ५३ पैसाको आयव्यय प्रस्तुत गरिएको थियो ।
कार्यक्रम सञ्चालन सञ्चारकर्मी उत्तम आचार्यले गर्नुभएको थियो । उृपस्थित सबै अतिथिहरुलाई फूलमाला र गम्छा लगाएर सम्मान गरिएको थियो ।
Add Comment