कञ्चनरुप, १० माघ । रुपनगर गाविसका पूर्व प्रधान पञ्च हुतराज रेग्मीको ८८ वर्षको उमेरमा निधन भएको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर –१२, रुपनगर प्रगति टोल स्थित रहेको आफ्नै निवासमा आज (मंगलबार) राती १२ः३० बजेको समयमा उहाँको निधन भएको हो । सप्तरीको पूर्वी उत्तरी भेगमा खम्बाको रुपमा रही यस भेगको विकासमा ठुलो योगदान पु¥याउनु भएको छ ।
वि.सं. २०१८, २०२०, २०२३ र २०२८ सालमा गरी चार पटक प्रधान पञ्च हुनु भएको र रुपनगरको विकास निर्माण कार्य उहाँकै पालादेखि सुरु भएको स्थानीय बताउँछन् । समाजको विकासप्रेमी, शिक्षा प्रेमी धार्मिक व्यक्तित्वको निधनले सिङ्गो समाजनै शोकमा डुबेको छ ।
उहाँले नै रुपनगर चौकदेखि उत्तर तर्फ जाने बाटोको निर्माण गर्नुभएको हो । शंकर माध्यमिक विद्यालयलाई स्व. हुतराज रेग्मीकै पहलमा सुनसरीको इनरुवा निवासी खेमराज पोखरेलको नाममा रहेको १२ कठ्ठा १६ धुर जग्गा निःशुल्क दिलाउन सफल हुनु भएको विद्यालयले जनाएको छ । विद्यालयको भौतिक निर्माण कार्यमा समेत उहाँले ठुलो योगदान पु¥याउनु भएको छ ।
स्व. रेग्मी कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रको संस्थापक अध्यक्ष भई स्वास्थ्य क्षेत्रमा समेत उहाँले ठुलो योगदान पु¥याउनु भएको छ ।
उहाँका ४ छोरा ३ छोरी रहेका छन् । हिन्दु परम्परा अनुसार आजै कोशी व्यारेज स्थित रहेको सप्तकोशी नदीमा स्व. रेग्मीको शवलाई छोराहरुले दागबत्ती दिई अन्तिम संस्कार गरिएको थियो ।
Add Comment