कञ्चनरुप, २० माघ । सप्तरीको रुपनगर गाविसका पूर्व प्रधान पञ्च स्व. हुतराज रेग्मीको स्वर्गारोहण भएको १२ औं पुण्य तिथिमा कञ्चनरुप नगरपालिका १२ नम्बर वडा कार्यालयले सोक सभा सम्पन्न गरेको छ । शुक्रबार स्व. रेग्मीकै निवास रुपनगर प्रगति टोलमा गई सोक सभा सम्पन्न गरेको हो ।
सोक सभालाई सम्बोधन गर्दै १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीले पूर्व प्रधान पञ्च, समाजसेवी, विकासप्रेमी, समाजको अभिभावकको निधनले १२ नम्बर वडा कार्यालय, सिङ्गो समाज र सप्तरी जिल्लालाई नै अपुरणिय क्षति भएको बताउनु भयो ।
वडा अध्यक्ष खत्रीले स्व. हुतराज रेग्मीले छोडेर जानुभएको मार्गदर्शनलाई सबैले आत्मसाथ गरी अगालेर काम गरेमात्र उहाँ प्रति सच्चा श्रद्धाञ्जली दिइएको ठहरिने छ भन्नु भयो ।
वडा सदस्य जैनुदिन मियाँले पूर्व प्रधान पञ्च स्व. रेग्मी विकास प्रेमी, शिक्षाप्रेमी, समाजसेवी मात्र नभएर सप्तरी जिल्लाकै असल अभिभावक रहेको बताउँदै उहाँले छोडेर जानुभएको मार्गदर्शनलाई आत्मसाथ गरी १२ नम्बर वडा कार्यालयले काम गर्ने बताउनु भयो । स्व. रेग्मीको निधनले रुपनगरलाई मात्र नभएर सप्तरी जिल्लालाई नै अपुरणिय क्षति भएको वडा सदस्य मियाँले बताउनु भयो ।
सोही अवसरमा वडा अध्यक्ष खत्रीले समवेदना पत्र स्व रेग्मीका भाइ रुद्र प्रसाद रेग्मीलाई हस्तान्तरण गर्नुभएको थियो ।
Add Comment