खेलकुद

सप्तरी प्रिमियर लिग : उदघाटन खेलमा रुपनी राइडर्स १५ रनले विजयी

कञ्चनरुप, ३ असार । पाँचौ संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा सुरु भएको छ । लिग अन्तर्गत आज (आईतवार) भएको उदघाटन खेलमा रुपनी राईडर्सले राजविराज द किंग्सलाई १५ रनले पराजित गरेको छ ।
पब्लिक विन्देश्वरी खेल मैदानमा सम्पन्न खेलमा रुपनीले राइडर्स दिएको १५१ रनको लक्ष्य पछ्याएको राजविराज द किंग्सले पुरै २० ओभर ब्याटिङ गर्दै ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।
राजविराज द किंग्सको लागि विक्रम सोवले सर्वाधिक ३४ रन, तृत राज दासले ३३ तथा अविशेक कार्कीले २९ रन बनाए । रुपनीको बलिङमा फिर्दोश अन्सारीले ४ ओभर बलिङ गर्दै १९ रन दिएर सर्वाधिक ३ विकेट लिए । धिरज मण्डलले २ तथा जितेन्द्र मुखिया, अशोक मेहता र दिपेश कंडेलले समान १–१ विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ गरेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५० रन बनाएको थियो । रुपनीको लागि फिर्दोश अन्सारीले ४९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६१ रन बनाए । रोहन बिकले ३३ तथा विकास दासले २० रन बनाए । राजविराजको बलिंगमा बिक्रम सोवले २ विकेट तथा दिपेश सरदार, तृत राज दास र सोहेल खानले समान १–१ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच रुपनी राइडर्सका फिर्दोश अन्सारी भए ।
प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । पहिलो खेलमा रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स तथा दोस्रो खेल छिन्नमस्ता लाइन्स र बजाज खडक वारियर्स बीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page