धर्म संस्कृति समाज

खुसी साटासाटका साथै ईद मुबारक दिँदै इस्लाम धर्मावलम्बी बकर इद पर्व मनाउँदै

कञ्चनरुप, १४ असार । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज सप्तरीसहित देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । यस अवसरमा कञ्चनरुप -१२ रुपनगरमा रहेको इदगाहमा नमाज पढ्नेको विहान भीड लागेको थियो। सामुहिक नमाज पढिसकेपछि एक अर्काले अंकमाल गर्दै एकापसमा शुभकामना आदान प्रदान गरेका थिए ।

सप्तरीको विभिन्न जामे मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ ।
यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् । मुस्लिम धर्मावलम्बीले मंगलबारसम्म तीन दिन यो पर्व मनाउने जनाइएको छ । यो पर्व मनाउने तीनै दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको जैनुदिन मियाँले जानकारी दिए । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, दोस्रो भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेको जैनुदिनले बताए ।
यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page