धर्म संस्कृति

आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपी मनाइँदै

सप्तरी । आज हरिशयनी एकादशी घरघरमा तुलसीको बिरुवा रोपी देशभर मनाइँदै छ । शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस एकादशीका दिन घरघरमा तुलसीको विरुवा सारी चार महिनासम्म विशेष पूजा सुरु गरिन्छ ।
एक महिनाअघि जेठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको विरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आज बिहानैदेखि देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्छ ।
एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । भगवान् विष्णु शयन हुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । यस वर्ष भने साउन महिनामा अधिकमास परेकाले पाँच महिना हुने भएको छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । यस वर्ष भने अधिकमासका दुईसमेत गरी २६ एकादशी परेका छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page