धर्म संस्कृति

साउनको पहिलो सोमबार, कञ्चनरुपसहित सप्तरीका शिवालयहरुमा भक्तजनको घुइँचो

कञ्चनरुप, १ साउन । आज साउन महिनाको पहिलो सोमबार, कञ्चनरुपसहित सप्तरीका शिवालयहरुमा बिहानैदेखि पूजा गर्ने भक्तजनहरुको घुइँचो लागेको छ ।
सप्तरीको धर्मेश्वर महादेव मन्दिर, राजबिराजको हरिनन्देश्वर महादेव मन्दिर, शुम्भुनाथ महादेव मन्दिर, भजनेश्वर महादेव मन्दिर, त्रिमार्ग शिवालय मन्दिर लगायत शिवालयहरुमा पूजाअर्चना गर्न बिहानैदेखि भक्तजनका घुइँचो लागेको हो ।
जिल्लाको कञ्चनरुप नगरपालिका १२ धरमपुर स्थित ऐतिहाँसिक एवम् पुरातात्विक महत्वको धर्मेश्वर महादेव मन्दिरमा बिहानै देखि पूजापाठ गर्ने भक्तजनहरुको भिड लागेको छ । यसैगरी राजबिराजको हरिनन्देश्वर महादेव मन्दिरमा पनि भक्तजनहरूको घुँइचो लागेको छ ।
त्यसैगरी जिल्लाकै शम्भुनाथ नगरपालिका स्थित रहेको शम्भुनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरुले पूजाआजा गरेका छन् । विभिन्न ध्वजापताकाले सिंगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको बिहार राज्यको सुपौल र मधुवनी जिल्ला लगायत शहरी तथा ग्रामिण क्षेत्रका धर्मालम्वीहरु व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिरहेका छन् ।

त्यस्तै सप्तकोशी नगरपालिका फत्तेपुर स्थित शिवालय, कञ्चनरुप –६ बलुवा स्थित रहेको भजनेश्वर महादेव मन्दिर, कञ्चनरुप –८ स्थित रहेको शिवालय मन्दिर , कञ्चनरुप–१२ रुपनगर स्थित रहेको त्रिमार्ग शिवालय मन्दिर, राजविराज १ मा रहेको शिवालय मन्दिर, महादेवा गाउँपालिका स्थित शिवालय मन्दिर, हनुमाननगर कंकालिनी २ मा रहेको महादेव मन्दिर, पातोको डाक्नेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिरमा समेत बिहानैदेखि पूजापाठ गर्ने भक्तजनहरुको उल्लेख्य मात्रामा घुँइचो लागेको छ ।
भगवान शिवको प्रिय मानिने साउन महिनाको आज पहिलो सोमबार । हिन्दू धर्मावलम्बीहरु शिवालयहरुमा बिहानैदेखि पूजाअर्चना, जर्लापण तथा बिहान ४ बजेदेखि फूलमाला , बेलपत्र, ,धतुरो, मिष्ठान्न तथा विभिन्न किसिमका फलफूल सहित हरिया र पहेँला रंगीचंगी भेषभूषामा सजिएर महिला, पुरुष ,बृद्धबृद्धा र बालबालिकाहरु मन्दिरमा भिड लाग्ने गर्दछन् ।
यो दिन आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । विधिपूर्वक आरधना गर्दा शिव खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ ।

यस वर्ष साउनमा पाँच सोमबार परेको छ । यस साउन महिनामा भगवान् शिवको विशेष पूजा–आराधना गर्दा विशेष फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ । यो महिनामा भगवान् शिवलाई खुसी पार्नुपर्छ भन्ने गरिन्छ ।
साउन महिनामा बिहान सबेरै उठेर नुहाएर सफा लुगा लगाउनुपर्छ । साउनभर भोलेनाथलाई जल र बेलको पात चढाउँदा राम्रो हुने जनविश्वास रहिआएको छ । साउनको सोमबार भगवान शिवको प्रिय हुने विश्वासका साथ अन्य बारको तुलनामा सोमबारको दिन शिवालयहरुमा पूजा गर्ने भक्तजनहरुको बढी घुइँचो लाग्छ ।
काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिव मन्दिरहरुमा व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिरहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page