सप्तरी । सप्तरीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका २० वर्षीय पतिलाई प्रहरीले पक्राउ गरेको छ ।
राजविराज नगरपालिका–१ बस्ने २२ वर्षीया आरती कुमारी कापैरलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका पति २० वर्षीय मो. जैदिन भनिने मो. समिरलाई सोमबार जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।
मृतकका बुबा धनुषाको सबैला नगरपालिका–१० खरिहानीका रामकुमार कापर केवटको उजुरीमा आरोपित समिरलाई गिरफ्तार गरी आत्महत्या दुरुत्साहनमा कारबाही थालिएको इन्स्पेक्टर राजिव गिरीले बताए ।
मृतक कापैरको साढे १ वर्ष अघि जातीय रीतिरिवाज तथा सामाजिक परम्परा अनुसार सिरहा जिल्लाको सिरहा नगरपालिका–११ भलुवाहीका सुबध कामैतसँग विवाह भएको थियो ।
मृतकसँग सामाजिक सञ्जालमार्फत १० महिना अघि सम्पर्कमा आएका आरोपितले विभिन्न लोभ, प्रलोभन दिई प्रेमजालमा पारी भदौ ९ गते भगाएर पत्नी बनाएर राखेका थिए ।
घरपरिवारले बुहारी अस्विकार गरेपछि पीडित र आरोपित राजविराज नगरपालिका–३ मा डेरा लिई बसोवास गर्दै आएका थिए । राजविराज नगरपालिका–४ बजारस्थित फलफूल पसलमा मजदुरी गर्ने आरोपित रोजगारीका लागि पसल आएका बेला राजविराज नगरपालिका–३ स्थित डेराको शौचालयमा भित्रबाट चुकुल लगाएर पीडितले सलको पासो लगाई असार ८ गते आत्महत्या गरेकी थिइन् ।
कापैरको मृत्यु भएको भनी असार १० गते प्रहरी चौकी खरियानी, धनुषामार्फत खबर पुगेपछि मृतकका बुबा राजविराज आएका थिए । छोरीलाई भगाएर विवाह गरेका आरोपित समिरले शारीरिक यातना र मानसिक तनाव दिई आत्महत्या गरी मर्न दुरुत्साहित गरी बाध्य बनाएको भन्दै मृतकका बुबा केवटले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए ।
शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा असार १० गते पोष्टमार्टम भयो ।
Add Comment