समाचार

शम्भुनाथ नगरपालिकाका निलम्बित नगर प्रमुख गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर

राजविराज, १२ असोज । सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित नगर प्रमुख जितेन्द्रप्रसाद गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतको शुक्रबारको इजलासले गुप्ता र शम्भुनाथ नगरपालिकाका इञ्जिनियर रामचन्द्र साहलाई भ्रष्टाचारी ठहर गरेको हो।
विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशी प्रसाद थारूको संयूक्त इजलासले उनीहरूलाई दोषी ठहर गर्दै कैदसजायको फैसला गरेको हो।
दोषी ठहरिएका गुप्ता र साहलाई जनही ६ महिना कैद र ७० हजार रुपियाँ जरिवाना तोकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।
इञ्जिनियर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गत माघ ३ गते घुस रकमसहित पक्राउ गरेको थियो। विद्यालय सभाकक्ष निर्माण कार्यको अन्तिम बिल भुक्तानी प्रयोजनको लागि सेवाग्राहीबाट १ लाख ४० हजार घुस लिएको अवस्थामा साह कार्यकक्षबाटै पक्राउ परेका थिए।
अनुसन्धानका क्रममा नगर प्रमुख गुप्ताको मिलोमतो समेत देखिएको भन्दै १ लाख ४० हजार रुपियाँ मागदाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र सोही दफा ३ को उपदफा ९१० देहाय खण्ड ९घ० बमोजिम कैद र बिगोबमोजिम आरोपितहरुबाट जरिवाना माग गरिएको थियो। उनीहरुविरुद्ध अख्तियारले फागुन १७ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
गुप्ता २०७९ को निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट नगर प्रमुखमा निर्वाचित भएका थिए।
सप्तरीका दुई नगर प्रमुख भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् भने दुई प्रमुख निलम्बित छन्।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page