समाचार

प्रसाहा सामुदायिक वन उपभोक्ता समुहको १२ औं वार्षिक साधारणसभा सम्पन्न,१९ लाख बढीको आयब्यय प्रस्तुत

खगेन्द्र कार्की /
फत्तेपुर, १३ असोज । प्रसाहा सामुदायिक वन उपभोक्ता समुहको १२ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सामुदायिक वनका अध्यक्ष बिष्णुदेव चौधरीको अध्यक्ष तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकालको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
सप्तकोशी नगरपालिका वडा नम्बर २ मा २ सय २४ उपभोक्ता रहेको सामुदायिक वनको १२ औं वार्षिक साधारणसभा सप्तकोसी नगरपालिकाका नगरप्रमुख कृष्ण प्रसाद ढकालले उद्घाटन गरेका छन।
हरियो वन नेपालको धन भन्ने मुल नाराको साथ आयोजित साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख ढकालले वन जङ्गल तथा वातावरण संरक्षणमा सामुदायिक वनले अहम भूमिका निर्वाह गरेको बताउँदै सामुदायिक वन क्षेत्रमा रहेका खहरे खोलामा बालुवाको मात्रा बढेकाले खोलाको उचाइ माथि भएका कारण प्रत्येक वर्ष गाउँ बस्तिमा प्रवेश गरि धनजनको क्षति गर्ने गरेकोले खोला उच्च भएका ठाउँको बालुवा निकाल्ने वातावरण मिलाउन सम्बन्धित निकाएसंग आग्रह गरे।

डिभिजन वन कार्यालय सप्तरीका डिभिजन वन अधिकृत हेमन्तप्रसाद साहले वन संरक्षणको क्षेत्रमा सामुदायिक वनको महत्त्वपूर्ण योगदान रहेको प्रशंसा गर्दै सामुदायिक वन र उपभोक्ताले वन जङ्गल हानिहुने कुनै पनि कार्य नगर्न आग्रह गरे ।
साधारण सभामा आ.ब. २०७९/०८० को १९ लाख ७० हजार ३ सय ९ रुपैया ४१ पैसा बराबरको आयब्याय प्रस्तुत गरिएको थियो ।
सामुदायिक वनले उपभोक्ताहरुको जीवनस्तर उकास्ने उदेश्य राखी विभिन्न आयमुलक कार्यक्रम ल्याउने र वनको पहलमा विभिन्न उद्योग संचालन गरि गरिबी निवारणमा पहल गर्ने सामुदायिक वनका अध्यक्ष बिष्णुदेब चौधरीले जानकारी दिए ।

कार्यक्रममा सप्तकोसी नगरपालिका नगर उप प्रमुख रिताकुमारी चौधरी, कञ्चनरुप नगरपालिका नगर प्रमुख ललनप्रसाद गुप्ता, सप्तकोसी वडा नम्बर २ का वडा अध्यक्ष जाहिर हुसेन, सामुदायिक वन महासंघ सप्तरी अध्यक्ष अशोककुमार चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page