कञ्चनरुप, १८ असोज । सप्तरीसहित तराई मधेशका विभिन्न जिल्लाहरुमा थारु तथा मैथिल समुदायका महिलाहरुले धार्मिक विधिअनुसार मनाउने जितिया पर्व उत्साहपुर्वक सुरु भएको छ ।
सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि धूमधामका साथ धार्मिक विधि पूर्वक सुरु भएको हो ।
यो पर्व आश्विन कृष्ण पक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । सप्तमीको दिनलाई ‘नहाए खाएके’, अष्टमीको दिनलाई ‘उपवास’ र नवमीको दिनलाई ‘पारन’ भनेर मनाइन्छ ।
सप्तमीका दिन बिहान व्रतालुहरू नजिकको खोला–नदीमा गई तोरीको पिना प्रयोग गरी नुहाउँछन् । नुहाइसकेपछि तोरीको पिना घिरौँलाको पातमा राखेर खोलामा बगाउने चलन छ । चढाएको तेल आफ्ना सन्तानलाई पनि लगाइदिने चलन छ । व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रुपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।
सन्तानको दीर्घायुको लागि गरिने यो व्रतमा व्रतालुहरू उपवास बस्ने गर्छन् । उपवासका बेला व्रतालुहरूले थुक पनि निल्न नहुने मान्यता छ । मिथिलाञ्चलमा मनाइने व्रतमध्ये जितिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।
यस पर्वमा व्रतालुले पवित्र नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । शुक्रबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी शनिबार बिहान साढे १० बजेपछि मात्रै व्रत सम्पन्न हुन्छ ।
पौराणिक कथन अनुसार राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको हो ।
जितिया पर्वको अवसरमा साँस्कृतिक तथा शुभकामना आदानप्रदानसहित विभिन्न सार्वजनिक कार्यक्रमको आयोजना गरि एकहप्तादेखि नै पालिका तथा संस्थाहरुले जितिया पर्व मनाउन थालेका थिए ।
Add Comment