समाचार

सामा चखेवा लोकगीत प्रतियोगितामा ललिता यादव प्रथम

राजविराज, १४ मङ्सिर । दिदीबहिनीको स्नेह र दाजुभाईको पराक्रमको प्रतीक सामा चखेवा लोकगीत प्रतियोगितामा ललिता यादव प्रथम हुनुभएको छ ।
सप्तरीको राजविराजमा आयोजित प्रतियोगिताको आज नतिजा सार्वजनिक गर्दै भएको पुरस्कार वितरण समारोहमा सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–६ की यादवलाई पुरस्कार वितरण गरिएको छ ।
रेडियो सिएफमा आज आयोजित एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलले बिजेतालाई माला, गम्छा पहि¥याउँदै नगद पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार वितरण गर्नुहुँदै पोखरेलले मानव सभ्यतासँगै दिदीबहिनीको स्नेह र दाजुभाइको पराक्रमको शिलशिला सुरु भएको बताउनु भयो । पद्म पुराण र स्कन्ध पुराणमा उल्लेखित कथाको चर्चा गर्नुहुँदै पोखरेलले मौखिक परम्पराले डोहो¥याउँदै आएको मिथिला क्षेत्रको महत्वपूर्ण पर्वहरुलाई महिलाहरुले जिवन्त राखेकोमा सह्राना गर्नुभयो ।

यसैगरी राजविराज नगरपालिका–६ की रमिला साह द्वितीय र तिलाठी कोईलाडी गाउँपालिका–७ की अशिया देबी यादव तृतीय हुनुभएको छ । उपविजेता रमिला साहलाई बरिष्ठ फिब्जिशियन डाक्टर आशिष झा र तृतीय आशा देवीलाई बाल रोग बिशेषज्ञ डाक्टर मुकुन्द देवले गम्छा, माला पहि¥याउँदै नगद पुरस्कार प्रदान गर्नुभयो । लोकगीत प्रतियोगिता रेडियो सिएफ ९४.८ मेगाहर्जबाट गत शनिबार भएको थियो ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० का फुलदेव मण्डलले लोकसंस्कृती संरक्षणका लागि छोरा निखिल नयन मण्डलको ११औ जन्म दिनको अवसर पारेर सामाचखेवा गीत प्रतियोगिताका लागि पुरस्कार राशी उपलब्ध गराउनु भएको थियो । नवीन निर्भय यादवद्वारा एक घण्टा चलेको प्रतियोगिताको निर्णय साहित्यकार विद्यानन्द बेदर्दीले गर्नुभएको थियो ।


प्रतियोगितामा पुरस्कृतसहित तिलाठी कोईलाडी गाउँपालिका–६ बाट निशा यादव, ७ बाट हरेराम राय, ८ बाट अनिल अजन्मीलगायतको सहभागिता रहेको थियो ।
भाइटिका, भरदुतिया, किजा पूजा झै सामाचखेवा पर्वले दिदीबहिनीको स्नेह र दाजुभाइको पराक्रम दर्शाउने गर्छ । पुराणमा उल्लेख भएअनुसार सामा र चखेवा (चारुवक्य) पतिपत्नी हुन् । उनीहरू नै यो गीति नाटक वा परम्पराका मुख्य पात्रहरू हुन् । चारुवक्य आश्रममा बस्ने गर्थे । श्यामा (सामा) भगवान कृष्णकी छोरी हुन् । यही कथामा चुगलाको पनि भूमिका देखिन्छ । चुगला एक कुरौटे पात्र हुन् । आश्रममा बस्ने चखेवालाई भेट्न गएकी सामाको कुनै ऋषिसँग प्रेम चक्कर रहेको कुरा चुगलाले श्रीकृष्णलाई सुनाउन पुग्छन् । श्रीकृष्णले पनि सत्य कुरा नै नबुझी सामालाई चरा बन्ने श्राप दिन्छन् । सो कुरा सामाका भाइ शम्बले थाहा पाउँछन् । आफ्नी दिदीलाई पूर्ववत् अवस्थामा फर्काउनको लागि आफ्ना बाबुसँग उनी अनुनय विनय गर्छन् । जतिगर्दा पनि दिदीलाई पूर्ववत् अवस्थामा फर्काउन नसकेपछि उनी अन्ततः तपस्या गर्न सुरु गर्छन् ।

अर्काेतर्फ आफ्नी पत्नी सामा चरा भएको वियोगमा चखेवाले पनि चराकै स्वरुप धारण गरेर सामासँगै बस्न थाल्छन् । पछि कात्तिक पूर्णिमाको दिन शम्बको तपस्याबाट सन्तुष्ट भएर सामा र चखेवालाई नै पूर्ववत् स्वरुपमा फर्काएको भन्ने पौराणिक कथा छ ।
त्यसैले यो पर्व भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, दिदीबहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रणमा केन्द्रित छ । कुरौटे समाजको पनि यसमा चित्रण गरिएको छ । यो गीति संवादकोे माध्यमबाट अभिव्यक्त गर्ने गीति नाटक हो ।
परम्पराअनुसार मिथिलाका ललना (छोरीचेली, दिदीबहिनी) ले सामा खेल सुरु गर्ने गर्छन् । कात्तिक शुक्ल पञ्चमीदेखिको एघारौं दिन कात्तिक पूर्णिमामा सामा–चकेवाको विसर्जन गरी समापन गर्ने धार्मिक मान्यता छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page