सप्तरी । सप्तरीमा मोटरसाइकल चोरीमा संलग्न तीन जना युवकलाई पेस्तोल र गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको महदेवा गाउँपालिका १ ढिकली घर भई हाल राजविराज नगरपालिका ०१ राजदेवी टोल बस्ने २६ वर्षका सुमित मण्डल र भारतको बिहार राज्य अन्तर्गत मधुवनी ग्राम पन्चायत फुलपरास विसनपुर सिसवा वरही वडा नम्बर ५ बस्ने २७ वर्षका रणवीर यादव रहेका छन् ।
मण्डल गोलि लोड गरिएको कटुवा पेस्तोल र यादवलाई लागूऔषध गाँजासहित राजविराजबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत १२ माघको राति गते राजविराज नगरपालिका ६ स्थित सानिमा बैंक अगाडीबाट पार्किङ गरी राखेको प्र २–०१–००१ प ८६१४ नम्बरको १६० सिसिको अपाचे मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिहरुलाई खोजतलास एवं प्राबिधिक अनुसन्धान गर्ने सिलसिलामा १५ माघमा राजविराज ६ पुरानो बस पार्कबाट प्रदेश ०६–००१ प ०७५७ नम्बरको मोटरसाईकलमा आउँदै गरेका मण्डल समातिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज न्यौपानेले बताउनु भयो । उनको शरीर तलासी लिँदा निजले लगाएको ज्याकेटको खल्तीमा लोड गरिएको अवस्थामा कटुवा पेस्तोल थान–१ र यसमा लाग्ने ८ एमएम लेखिएको गोली थान–१ फेला परेको उहाँले बताउनु भयो ।
पेस्तोल र गोली बरामद गरी नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा निजले मोटरसाईकल आफुसहित रनबीर मिलेर चोरी गरेको र भारतमा लगी बेचेको बताएको डीएसपी न्यौपानेले जानकारी दिनुभयो ।
उनको बयानका आधारमा यादवको खोजतलास गर्दा १५ माघमै उनलाई बिआर ३२ एटी ०१३९ नम्बरको मोटरसाईकलमा पछाडी भारतमै बस्ने विभस यादवलाई पछाडि बसाई आउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेकाहरुको शरीर तलासी लिँदा मोटरसाईकलमा पछाडी बसेका विभस यादवको साथबाट लागूऔषध गाँजा ६०२ ग्राम फेला परेको प्रहरीको भनाई छ ।
उनीहरू विरुद्ध हातहतियार खरखजाना, लागूऔषध र चोरी सम्बन्धी मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Add Comment