कञ्चनरुप, २१ फागुन । सप्तरीमा ह्वाट्सएपबाट लाखौं रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजविराज नगरपालिका ७ बस्ने एक जना व्यक्तिलाई छोरालाई अपहरण गरेको भन्दै धम्की दिएर पैसा ठगने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका ६ मा बस्ने २६ वर्षीय सविन मैनाली, सोही नगरपालिकाको वडा नम्बर १० मा बस्ने २७ वर्षीय शुभम मैनाली र सुनसरीको धरान उप महानगरपालिका ३ बस्ने १९ वर्षीया आशिका बराइली रहेका छन् ।
उनीहरूले फागुन ५ गते बिहान राजविराज नगरपालिका वडा नं ७ मा +९२३२५०१६९१३५ नम्बरको ह्वाट्सपबाट कल गरी तपाईको छोरा मेरो कब्जामा छ, छोरा चाहिन्छ भने मैले भने बमोजिम रकम पठाउनुस्, यो कुरा अन्य कसैलाई जानकारी गराएमा तपाईको छोरालाई मारी दिन्छु भनी विभिन्न किसिमको डर त्रास देखाएका थिए ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार उनीहरुले विभिन्न व्यक्तिहरुको फरकफरक खातामा नेपाली रुपैयाँ रु. १२ लाख ८० हजार जम्मा गर्न लगाएका थिए । अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट परिचालित प्रहरी टोलीले ठगीमा संलग्न देखिएको उनीहरुलाई फागुन १८ गते पक्राउ गरेको थियो ।
पीडितको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ठगी (अनलाईन) शीर्षकमा मुद्दा दर्ता गरी १८ गतेबाट लागु हुने गरी सम्मानित जिल्ला अदालत सप्तरीबाट अनुसन्धानको लागि ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक श्याम कुमार महतोले जानकारी दिनुभयो ।