कोशी प्रदेश समाचार समाज

धनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु, १५ घाइते

धनकुटा, फागुन २० गते । धनकुटाको पाख्रिबासमा भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
आइतबार दिउँसो साढे ३ बजे धनकुटाको हिलेबाट चुम्बाङ जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप भ्यान पाख्रिबास नगरपालिका वडा नम्बर १० चुम्वाङमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको हो ।
पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएका गाडीमा सवार पाख्रीबास नगरपालिका १० धनकुटाका रेमन राईको ९ वर्षीय छोरी सँस्कृती राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
दुर्घटनामा परी घाईते भएका धनकुटा नगरपालिका ४ का ३६ बर्षीया देवीका खत्री र १४ बर्षीय अभिनाश खत्रीको सोहि अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईते पाख्रीबास १० की २२ बर्षीया रबिका राई, ६० बर्षीया लक्ष्मी राई, ४० बर्षीया सानु आले, धनकुटा ४ की ३७ बर्षीया देवी खत्री, १० बर्षीय अजित खत्री र सुनिता खत्रीको घोपा धरानमा उपचार भईरहेको छ ।
घटनामा संलग्न पिकअप चालक पाख्रीबास १० का ५५ बर्षीय राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
ढुवानीका लागि प्रयोग हुने पिकअपले धनकुटाका ग्रामीण भेगमा मानिस बोक्ने गरेका छन्।

   

You cannot copy content of this page