समाचार

देशमा आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको : निवर्तमान नगर प्रमुख बसन्त मिश्र

पुनम पोखरेल /
कञ्चनरुप, २७ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिकाका निवर्तमान नगर प्रमुख बसन्त मिश्रले देशमा आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको बताउनु भएको छ ।
“महिलामा लगानीः सभ्य र समुन्नत समाजको थालनी“ नाराका साथ ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कञ्चनरुप नगरपालिका–८ स्थित डेफोडिल अंग्रेजी माध्यमिक विद्यालयमा आइतबार आयोजित विविध साहित्यिक तथा सांगीतिक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
राजनीतिक परिवर्तन पछि आर्थिक र सामाजिक रुपान्तरण जरुरी रहेको भन्नुहुँदै उहाँले बाहिरी कुरा गरेर भन्दा सामाजिक यथार्थमा समस्याको पहिचान गरी समाधान खोजिनुपर्ने बताउनु भयो । कुनै पनि मानेमा महिला कमजोर नरहेकोले महिला आन्दोलनले लक्ष्य प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

“दिवसलाई चाडपर्वका रुपमा मनाउने होइन्, व्यवहारमा समानता अपनाएर मनाउने हो ।” मिश्रले भन्नुभयो “समस्याहरु उजागर गरेर दवाव दिने उपयुक्त माध्यम साहित्य र कला क्षेत्रका लागि सहयोग गर्न तत्पर रहने प्रतिबद्धता जनाउनु भयो ।
बुढ्यौली साहित्य समाज सप्तरीका अध्यक्ष तिर्थराज पोखरेलले शिक्षा, सम्पति र शक्तिको स्रोत महिला रहेको बताउनु भयो । पोखरेलले आफ्नो शक्ति पहिचान गर्न र सशक्तिकरणको अभियान जारी राख्न उहाँले आग्रह गर्नुभयो । महिलाहरुको सहभािगता नभएसम्म रुपान्तरण हुन नसक्ने उहाँले दावी गर्नुभयो ।
बुढ्यौली साहित्य समाज सप्तरीका सचिव मनोहर पोखरेलले महिला दिवसको राजनीतिक धरातल नै असमानताविरुद्ध निरन्तरको चेतना जगाउने भएकोले थप उपलब्धीका लागि संघर्षरत रहदै अहिले महिलाको संवैधानिक हकको कार्यान्वयनलाई सुनिश्चित गर्न सरकार र दलहरुलाई दबाब दिनुपर्ने बताउनु भयो । समाजलाई सभ्य र न्यायमूलक बनाउन समानताको सोच सबैमा हुनुपर्ने भन्नुहुँदै उहाँले मान्छेको विचार, सोच चिन्तनहरु परिवर्तन गर्न लगातार संघर्ष र आन्दोलन सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा अग्रज समाजसेवी फणिन्द्र श्रेष्ठले महिलालाई हेर्ने सामाजिक दृष्ट्रिकोण बदलिन नसकेकोमा चिन्ता ब्यक्त गर्नुभयो । वर्तमान अबस्थामा जेष्ठ नागरिकको अबस्था नाजुक बन्दै गएको भन्नुहुँदै श्रेष्ठले अग्रजहरूलाई ज्ञानको भण्डारको रूपमा लिएर ज्ञान, विज्ञान र संस्कार सिक्न बुढ्यौली साहित्य समाजको गठन महत्वपूर्ण हुने बताउनु भयो ।
बुढ्यौली साहित्य समाज सप्तरीका अध्यक्ष तिर्थराज पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा जेष्ठ नागरिक विष्णु कुमारी कोइराला र इन्दिरा दाहाललाई प्रमुख अतिथि मिश्र र अध्यक्ष पोखरेलले दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
कार्यक्रममा सप्तकोशी नगरपालिकाकी महिला विकास अधिकृत प्रज्ञा नेपाल, साहित्यकारहरु मेघराज पौड्याल, गिरीराज पौडेल, नारायण खड्का, महिला अधिकारकर्मीहरु इश्वरी पोखरेल, सरस्वती निरौला, विद्यार्थी शिशिका खड्कालगायतकाले मन्तव्य राख्नु भयो ।

शिक्षक रूपेश सुवेदीको सञ्चालन र समाजकी कोषाध्यक्ष दुर्गा दाहालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागी र बिद्यार्थीहरुले गीत, कविता वाचन, नृत्य र वक्तृत्व कला प्रदर्शन गरेका थिए । शिवरात्री पर्वका कारण महिला दिवस आज मनाइएको आयोजकले जनाएको छ ।
महिला मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनको नेतृत्वमा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठेको दिनको स्मरणमा सन् १९११ मार्च ८ देखि महिला दिवस मनाउने प्रचलन सुरु भएको हो ।
डेफोडिल अंग्रेजी माध्यमिक विद्यालयको समन्वयमा बुढ्यौली साहित्य समाज सप्तरीले पहिलो पटक कार्यक्रमको आयोजना गरेको हो । आयोजकका अनुसार बुढ्यौली साहित्यको प्रयोग मानव र प्रकृतिको सृष्टिसँगै जोडिएर आएको हुन्छ । मानव जीवन र जगतलाई हेर्दा यसभित्र सामान्यतया मानिसको सृष्टि, त्यसको गतिशीलता, जन्म, मृत्यु, पुनर्जन्म, प्राकृतिकपन, दैवीशक्ति चमत्कार, विश्वास, आस्था, धारणा पाइन्छ । विद्यालयका संस्थापक नगेन्द्र श्रेष्ठले बुढ्यौली साहित्य सार्वभौम यथार्थ रहेको बताउनु भयो । श्रेष्ठका अनुसार यो आदिम सभ्यताको सामूहिक अनुभूतिको समग्र पक्ष हो, जसमा मानव र प्रकृतिका घटना रहेका हुन्छन् ।

   

You cannot copy content of this page