मधेस प्रदेश समाचार समाज

अपहरणमा परेका लालबहादुरलाई प्रहरीले सप्तरीबाट गर्‍यो सकुशल उद्धार ,५ जना पक्राउ

राजविराज, १२ बैशाख ‌। धनुषाबाट अपहरणमा परेका उदयपुरका एक पुरुषको सप्तरीबाट उद्धार गरिएको छ ।
उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का लालबहादुर थापालाई अपहरण गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी प्रहरीले उनलाई उद्धार गरेको हो ।
धनुषाको मिथिला नगरपालिका ६ बाट मंगलवार दिउँसो लालबहादुर अपहरणमा परेपछि उनका आफन्तले धनुषा प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीलाई जानकारी गराए लगत्तै खोजतलास गर्ने क्रममा उनलाई सप्तरी प्रहरीले मंगलबार साँझ ५ बजे सकुशल उद्धार गरेको सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिध्दी बज्राचार्यले बताउनुभयो ।
प्रहरीले लालबहादुरलाई अपहरण गरेको आरोपमा सप्तरीको सप्तकोशी नगरपालिका १ का जयकुमार तामाङ, सोही स्थानका मनिश विश्वकर्मा, उमेश विश्वकर्मा तथा सिरहाको गोलबजार नगरपालिका ६ का शंकर लामा र वडा २ का अरुण कुमार लामालाई प्रकाउ गरेको छ ।
लालबहादुरलाई एक समूहले चार पाङ्ग्रे गाडीमा राखेर सप्तरीतर्फ ल्याएको जानकारी पाउनसाथ खोजतलास गर्ने क्रममा कडरबोनाबाट गाडीलाई रोकेर अपहरणकारीसहितलाई नियन्त्रण लिएको एसपी बज्राचार्यले जानकारी दिनुभयो । घटनामा संलग्न उनीहरुलाई मंगलबार राती नै धनुषा प्रहरीको जिम्मा लगाइएको एसपी बज्राचार्यले जानकारी दिनुभयो ।
वैदेशिक रोजगारी सम्बन्धी लेनदेनको विवादपछि लालबहादुरलाई अपहरण गरेको खुलेको धनुषा प्रहरी प्रबक्ता डिएसपी रन्जन अवाले बताउनुभयो ।

   

You cannot copy content of this page