मधेस प्रदेश समाचार

बारा प्रहरीद्वारा १३ लाखभन्दा बढी नक्कली नेपाली नोट सहित ४ जना पक्राउ

राजविराज, १६ जेठ । बारा प्रहरीले १३ लाखभन्दा बढी नक्कली नेपाली नोट सहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको कोल्हवी नगरपालिका ६ का २५ वर्षीय राजन चौधरी, वडा ५ का १९ वर्षीय आकाश चौधरी, रौतहटको राजपुर नगरपालिका १ का १९ वर्षीय मोहन कुमार साह र भारत बिहार राज्य, मोतिहारी, थाना झरौखर, पञ्चायत कबैया ग्राम खरसलवा ७ का ४० वर्षीय मोहमद आलम रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बाराको सिम्रौनगढ नगरपालिका ९ कचोर्वा, सानो बसबरियाबाट प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट प्रहरीले १३ लाख १६ हजार नक्कली नेपाली नोट बरामद गरेको छ । साथै ना ३४ प ३५१२ र बी.आर ०६ ए.डब्लु २७५८ नम्बरको मोटरसाइकल, एउटा साइकल समेत बरामद गरेको छ ।
पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

   

You cannot copy content of this page