कञ्चनरूप, १४ कार्तिक । सप्तरी प्रहरीले भारतबाट भन्सार छली ल्याउँदै गरेको २ लाख ८७ हजार बढीको कपडा र मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नं. ०७ बस्ने बर्ष २५ को अजय कुमार मण्डल र राजविराज नगरपालिका वडा नं. ०८ बस्ने बर्ष २६ को पवन कुमार कर्णलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मंगलबार दिउँसो १ बजेको समयमा इलाका प्रहरी कार्यालय सखडा सप्तरीबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई छिन्नमास्ता गाउँपालिका वडा नं. ३ सखडा नहर सडक खण्ड स्थितमा भारतको मोहनपुर तर्फबाट सप्तरीको राजबिराज तर्फ आउँदै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मण्डलले चलाई ल्याएको (मधेश प्रदेश ०१-००४ प ६२९५) नम्बरको १६० सि.सि अपाची कम्पनीको मोटरसाईकल र उक्त मोटरसाईकलमा कर्णले कालो ब्याग समाई राखेको र उक्त ब्याग चेकजाँच गर्दा भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याएको रू. २ लाख ८७ हजार ४०० रुपैया बराबरको कपडा र मोटरसाईकल बरामद गरेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।
उनीहरूलाई प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको डिएसपी बस्नेतले बताउनुभयो ।