कञ्चनरुप, १५ पुस । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको आँखा केन्द्रको स्थानीय सहभागी सल्लाहकार समिति (Local Participatory Advisory Committee) को बैठक सम्पन्न भएको छ । कञ्चनरुप नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा सोमबार बैठक सम्पन्न भएको हो ।
उक्त बैठकमा सप्तकोशी नगरपालिकाका मेयर कृष्ण प्रसाद ढकाल, कञ्चनरुप नगरपालिकाका उपमेयर मुना कुमारी पोखरेल, कञ्चनरुप नगरपालिकाका पूर्व मेयर वसन्त मिश्र, विभिन्न वडाध्यक्षहरू, कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका अध्यक्ष अमर श्रेष्ठ, स्थानीय जनप्रतिनिधिहरू, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
बैठकमा आँखा केन्द्रका इन्चार्ज चन्द्रकान्त चौधरीले वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो भने तिलगंगा आँखा प्रतिष्ठानका क्लस्टर लिड राम सिंह तामाङले तिलगंगाको परिचय र आँखा केन्द्रको महत्त्वबारे विस्तृत प्रस्तुति दिनुभएको थियो ।
बैठकमा उपस्थित अतिथिहरूले आँखा केन्द्रको उन्नति, प्रगति, र सेवाको पहुँचलाई अझ प्रभावकारी बनाउन विभिन्न सुझाव र सल्लाह राख्नुभएको थियो । साथै, स्थानीय सरकार तथा सरोकारवालाहरूले आँखा केन्द्रलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यसैगरी, तिलगंगा आँखा प्रतिष्ठानद्वारा कञ्चनरुप नगरपालिकाका ३० जना स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभूत आँखा हेरचाह तालिम पनि प्रदान गरेको तिलगंगाका अनिल साउदले जानकारी दिनुभयो ।
उक्त कार्यक्रमले स्थानीय स्तरमा आँखा स्वास्थ्य सेवाको पहुँचलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।