कञ्चनरूप, १४ जेष्ठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर-०१ स्थित कोशी ब्यारेज पुलको उत्तर साईडमा रहेको ५६ नम्बर ढोकामा अाज एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ ।
बुधबार साझ ५ बजेको समयमा हाल नामथर वतन नखुलेको अन्दाजी बर्ष ५०/५५ पुरुषको शव मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पानीमा घोप्टो परी मृत अवस्थामा (सडि गलेको) रहेको भन्ने खबर स्थानीयले प्रहरीलाई गरेका थिए । खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक गोबिन्द घिसिङको कमाण्डमा टोली गएको थियो ।
शवलाई पानीबाट बाहिर निकाली जाच मुचुल्का लगाएतको कार्य गरी पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि प्रकृया अगाडि बढाइएको डिएसपी काफ्लेले बताउनुभयो ।

