समाचार

सप्तरी प्रहरीद्वारा हवाई फायर गरेर दुईजना लागूऔषध कारोबारी नियन्त्रण  

सप्तरी, १८ साउन । सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुई जना लागुऔषध कारोबारीलाई आज नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका- १ बरही बिरपुरका विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज राय छन् । जिल्लाको छिन्नमस्ता गाउँपालिका १ बरहीबिरपुरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

आरोपीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरिएको एसपी गौतमकुमार केसीले बताउनुभयो । आरोपीहरू भाग्न खोजेपछि हवाई फायर गरी नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।  

प्रहरीले उनीहरूको साथबाट करिब १ सय ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

ब्युरोबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा आरोपीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

   

You cannot copy content of this page