कञ्चनरूप, १९ साउन । आज साउन महिनाको तेस्रो सोमबार बिहानैदेखि सप्तरीका शिवालय मन्दिरलगायत देशभरका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजनको घुइँचो छ ।
साउने सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै शिवालय मन्दिरमा भक्तजनको घुइँचो थियो ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो सप्तरीको धर्मेश्वर महादेव मन्दिर, राजबिराजको हरिनन्देश्वर महादेव मन्दिर, शम्भुनाथको शुम्भुनाथ महादेव मन्दिर, कञ्चनरुपको भजनेश्वर महादेव मन्दिर, त्रिमार्ग शिवालय मन्दिर, अंकुरी महादेव लगायतका स्थानमा विशेषगरी महिला भक्तजनको भिड देखिन्छ । रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनले शिवालय मन्दिर क्षेत्र भरिभराउ छ ।
मन्दिर परिसरमा साधु सन्त तथा भक्तजनले भजन कीर्तन गरी शिव आराधना गरिरहेका छन् । मन्दिर बाहिरको बजारमा स्थानीय मेला समेत लागेको थियो ।
जिल्लाको कञ्चनरुप नगरपालिका १२ धरमपुर स्थित ऐतिहाँसिक एवम् पुरातात्विक महत्वको धर्मेश्वर महादेव मन्दिरमा बिहानै देखि पूजापाठ गर्ने भक्तजनहरुको भिड लागेको छ । यसैगरी राजबिराजको हरिनन्देश्वर महादेव मन्दिरमा पनि भक्तजनहरूको घुँइचो लागेको थियो ।
त्यसैगरी जिल्लाकै शम्भुनाथ नगरपालिका स्थित रहेको शम्भुनाथ महादेव मन्दिरमा बिहानैदेखि भक्तजनहरुले पूजाआजा गरेका छन् । विभिन्न ध्वजापताकाले सिंगारिएको सो मन्दिरमा दर्शनका लागि सप्तरी, सिरहा तथा भारतको बिहार राज्यको सुपौल र मधुवनी जिल्ला लगायत शहरी तथा ग्रामिण क्षेत्रका धर्मालम्वीहरु व्रतालुहरु बिहानैदेखि लामबद्ध भएर पूजा गरिरहेका छन् ।
त्यस्तै सप्तकोशी नगरपालिका फत्तेपुर स्थित शिवालय, कञ्चनरुप –६ बलुवा स्थित रहेको भजनेश्वर महादेव मन्दिर, कञ्चनरुप –८ स्थित रहेको शिवालय मन्दिर , कञ्चनरुप–१२ रुपनगर स्थित रहेको त्रिमार्ग शिवालय मन्दिर, राजविराज १ मा रहेको शिवालय मन्दिर, महादेवा गाउँपालिका स्थित शिवालय मन्दिर, हनुमाननगर कंकालिनी २ मा रहेको महादेव मन्दिर, पातोको डाक्नेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिर लगायतका शिवालयमा भक्तजनहरू बिहानैदेखि स्नान गरी महादेवको पूजाआराधनामा व्यस्त छन्।
विवाहित महिलाले श्रीमानकाे दीर्घजीवनको कामना र अविवाहित महिलाले योग्य बरको कामना गर्दै साउने सोमबारको व्रत बस्ने भन्ने भनाइ पनि प्रचलित छ । धर्मशास्त्रका अनुसार सुख, शान्ति एवं समृद्धिका लागि साउन महिना र सोमबार सबैले शिवको उपासना गर्नुपर्ने शास्त्रीय वचन धार्मिक ग्रन्थमा रहेको छ ।
साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर विभिन्न नदी तथा तलाउको पवित्र जल शिवमन्दिरमा चढाउने गरिन्छ ।
घरघरमा महिलाले परिवारका सबै सदस्यको सुख, शान्ति एवं पारिवारिक समृद्धिका लागि व्रत बसी पूजाआजा गर्छन् । यस वर्ष साउनमा चारवटा सोमबार परेकामा आज तेस्रो सोमबार रहेको छ ।
पहिलोपटक साउने सोमबारको व्रत गर्नेले पाँचवटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भन्ने मान्यतासमेत छ । विशेष कामनासहित साउनको सोमबारको व्रत गर्नेहरुले अन्तिम सोमबार गोदान, पूर्णपात्रसहित कामना पूर्ण होस् भनी व्रत समापन गर्छन् ।
भगवान् शिवलाई जलधारा प्रिय हुने भएकाले साउन महिनामा नदीबाट शुद्ध जल, गाईको दुध, वेलपत्र लगायत अर्पण गर्ने परम्परा छ ।

