जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधाममा “स्थानीय सरकारको लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) नीतिवारे संवाद कार्यक्रम” मंगलबार सम्पन्न भएको छ ।
वुमन एक्ट नेपाल र नेपाल नगरपालिका संघ (MuAN) को आयोजनामा धनुषाको होटल गौतममा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार एवं कानुनमन्त्री राजकुमार लेखीले संविधानमा उल्लेख भएका कतिपय व्यवस्थाहरु हामीले अझैसम्म व्यवहारमा उतार्न नसकेको बताउनु भएको छ ।
गृहमन्त्री लेखीले नेपालको संविधानले अनेकौं अधिकार र संरचनाको व्यवस्था गरेको भए पनि त्यसलाई व्यवहारमा पूर्णरुपमा उतार्न नसकिएको टिप्पणी गर्नुभयो ।

मन्त्री लेखिले भन्नुभयो संविधानले तीन तहको संरचना संगै स्वायत्त इलाका र स्वायत्त क्षेत्रको परिकल्पना गरेको छ, तर आजसम्म पनि यसको कार्यान्वयन भएको छैन।”
गृहमन्त्री लेखीले भन्नुभयो- “स्थानीय सरकार सबैभन्दा समावेशी रुपमा अगाडि बढेको देखिन्छ, तर अझै पूर्ण स्वायत्तता र अधिकार सम्पन्न नभएकाले प्रदेशले चाहेर पनि धेरै काम गर्न सकिरहेको छैन।”
दलित, मुस्लिम, आदिवासी, जनजाति, महिला लगायत पछाडि परेका वर्ग–समुदायले संविधानले दिएको अधिकार अझै पाउन सकेका छैनन्, यसबारे प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको समेत सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री लेखीले बताउनुभयो ।

आयोजक वुमन एक्ट नेपालका अध्यक्ष एवम् कार्यक्रम संयोजक सृजना अधिकारीले GEDSI नीति लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरणलाई स्थानीय सरकारको नीतिगत दस्तावेजमा समावेश गराउन महत्त्वपूर्ण कदम हुने बताउनु भएको छ ।
कार्यक्रममा संविधानविद काशीराज दाहाल, नगरपालिका संघका प्रतिनिधि, महिला अधिकारकर्मी, अपाङ्गता अधिकारकर्मी, दलित, आदिवासी जनजाति, मुस्लिम र अन्य समुदायका सरोकारवालाले GEDSI नीति आवश्यकताको औचित्य र आगामी रणनीतिबारे विचार प्रस्तुत गर्नुभएको थियो । उहाँहरूले संविधानमा उल्लेखित समानता, समावेशीकरण र अधिकार सुनिश्चितताका प्रावधानलाई स्थानीय सरकारमार्फत प्रभावकारी रुपमा लागू गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा GEDSI नीतिको मस्यौदा प्रस्तुतिकरण, सरोकारवाला निकायको धारणा संकलन र समूहगत छलफलमार्फत प्राप्त सुझाव,नीति कार्यान्वयनको चुनौती र सम्भावना बारे गहन बहस भएको थियोे ।
कार्यक्रममा प्रदेशका सरोकारवाला निकाय, विज्ञ, जनप्रतिनिधि, नागरिक समाज र सरोकारवाला समुदायको सक्रिय सहभागिता रहेको थियो ।


