कञ्चनरूप, १९ माघ । संविधानसभा सदस्य तथा पूर्व मन्त्री जितेन्द्र नारायण देवले नेकपा एमाले परित्याग गरेको घोषणा गर्नुभएको छ । शनिबार सार्वजनिक गरिएको लिखित घोषणामार्फत उहाँले पार्टी परित्यागको औपचारिक जानकारी दिनुभएको हो ।
घोषणामा उहाँले देशमा विद्यमान कुशासन, भ्रष्टाचार, लुटतन्त्र, बेरोजगारी तथा युवाहरूको ठूलो संख्यामा भइरहेको विदेश पलायनको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । यस्ता विषयमा जनआक्रोश बढ्दै गएको अवस्थामा २३ गतेको जनजीवनलाई नबुझेको वा बेवास्ता गर्न नचाहेको उल्लेख गरिएको छ ।
उहाँले पार्टीलाई सही दिशामा लैजान सुझाव दिँदा त्यसलाई ‘विदेशी एजेन्डा’को संज्ञा दिइएको, पार्टीभित्र व्यक्तिवाद र देवत्वकरण तीव्र रूपमा बढाइएको तथा स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन गरिएको आरोप लगाउनुभएको छ । पार्टीको विचार, नीति र व्यवहारसँग असहमति जनाउँदै आजको मितिदेखि नेकपा एमाले परित्याग गरेको घोषणा गरिएको जनाइएको छ ।
घोषणामा उहाँले सबै सम्बन्धित पक्षलाई यस विषयमा सार्वजनिक जानकारी गराइएको स्पष्ट पार्नुभएको छ ।















