समाचार

सप्तरीका सीमावर्ती क्षेत्रबाट ७ लाखभन्दा बढीका अवैध सामान र पटका बरामद

कञ्चनरूप, ३० असोज । सशस्त्र प्रहरी बल, नेपालले सप्तरी जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट लाखौँ रुपैयाँ बराबरका अवैध चोरी पैठारीका सामान बरामद गरेको छ। बरामद गरिएका सामानमध्ये किराना सामग्री, कुर्सी तथा सामान ढुवानीमा प्रयोग गरिएका तीनवटा मोटरसाइकलसमेत रहेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गण हेडक्वार्टर सप्तरीबाट असोज ३० गते खटिएको टोलीले जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा गरेको कारबाहीका क्रममा कुल ५ लाख ७३ हजार ४ सय ५६ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको हो।

बरामद गरिएका किराना सामान, कुर्सी तथा ढुवानीमा प्रयोग भएका तीनवटा मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी, सोही दिन जिल्लाका विभिन्न स्थानबाट १ लाख ५१ हजार ७ सय ४९ रुपैयाँ बराबरका आतसबाजी (पटका) समेत बरामद गरिएको छ। बरामद गरिएका पटका सुरक्षा जोखिमलाई मध्यनजर गर्दै नष्ट गरिएको जनाइएको छ।

चाडपर्वको समयमा सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवैध चोरी पैठारी तथा प्रतिबन्धित विस्फोटक पदार्थको ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई तीव्र बनाएको छ।

अवैध रूपमा सामान आयात तथा ओसारपसार गर्ने गतिविधि नियन्त्रण गर्न सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउनुका साथै यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने सुरक्षा निकायले जनाएको छ।

अवैध सामान बरामद गर्नुका साथै पटका नष्ट गर्ने कार्यले सीमावर्ती क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण र चाडपर्वलाई सुरक्षित बनाउने प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

You cannot copy content of this page