बिराटनगर, २० । झापाको भद्रपुर नगरपालिका–८ स्थित भद्रपुर विमानस्थलबाट लागू औषध ब्राउन सुगरसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार साँझ विमानस्थल सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा भद्रपुरबाट काठमाडौँ जान लागेकी हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–२ निवासी २६ वर्षीया रोशनी बुढालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बुढाले लुकाइछिपाइ राखेको अवस्थामा १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरिएको छ।
प्रहरीले बरामद लागू औषधसहित बुढालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
लागू औषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि विमानस्थल क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ।













