काठमाडौं, १९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल नेपालमा निपाह भाइरसको जोखिम न्यून रहेको स्पष्ट गरेको छ। विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी तथा दक्षिण–पूर्वी एसियाली क्षेत्रमा गरिएको जोखिम मूल्याङ्कनका आधारमा नेपालमा हाल निपाह भाइरसबाट जनस्वास्थ्य जोखिम न्यून रहेको मन्त्रालयले जनाएको हो।
मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकमा देखिएका निपाह भाइरसका केही घटनालाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीका कदमहरू अघि बढाइएको जानकारी दिएको छ । मन्त्रालयअन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका स्वास्थ्य संस्था तथा निकायहरूलाई सतर्क रहन निर्देशन दिएको र निपाह भाइरसको परीक्षण प्रणालीसमेत तयारी अवस्थामा राखिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा निपाह भाइरस संक्रमित फलफूल चमेराले चपाएको वा दूषित फलफूल सेवन गर्दा, साथै संक्रमित व्यक्तिको रगत, थुक, पिसाब वा नजिकको सम्पर्कबाट सर्ने जोखिम रहने उल्लेख गरिएको छ । यसबाट बच्न फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी राम्ररी पकाएर खाने, सफा तथा सुरक्षित पानी उमालेर मात्र पिउने, जनावरको गोठ र फार्म सफा राख्ने, मासु काट्दा पञ्जा र मास्क प्रयोग गर्ने तथा नियमित साबुन पानीले हात धुनेजस्ता सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।
ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, ज्वरोसँगै खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, बान्ता हुने वा गम्भीर अवस्थामा होस हराउनेजस्ता लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्था वा १११५ मा सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।
हालसम्म नेपालमा निपाह भाइरसको पुष्टि भएको घटना नभएको जनाउँदै मन्त्रालयले स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ । साथै नागरिकलाई आत्तिन नपरी मन्त्रालयबाट जारी हुने आधिकारिक सूचनामात्र विश्वास गर्न आग्रह गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा नागरिकलाई सचेत, सतर्क र जिम्मेवार रहन आग्रह गरिएको छ।















