कञ्चनरुप, १ फागुन । मोरङको बिराटनगर स्पोर्टस एकेडेमी सप्तरीमा जारी एक्स्ट्रिम दोस्रो गोर्खा खुकुरी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा बिराटनगरले झापाको गेरबाबा फुटबल क्लब लाई ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
रोचक र प्रतिस्पर्धात्मक खेलमा बिराटनगरका सौर्य राउत र अनिष आरडीले समान दुई–दुई गोल गर्दै टोलीलाई जित दिलाए । गेरबाबाका दिपेश श्रेष्ठले दुई गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। उत्कृष्ट प्रदर्शनका लागि बिराटनगरकै सौर्य राउत ‘म्यान अफ दि म्याच’ घोषित भए।

अब बिराटनगर स्पोर्टस एकेडेमीले फागुन ३ गते हुने फाइनलमा उदयपुरको सोमबारे फुटबल क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिता रिभरसाईड युवा क्लबको आयोजना तथा एक्सिट्रम इनर्जी ड्रिक्सको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ।
कञ्चनरुपमा जारी प्रतियोगिताले स्थानीय स्तरमा फुटबलप्रेमी दर्शकको उल्लेख्य उपस्थिति र उत्साह थपेको छ।










