कञ्चनरुप, ५ वैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित श्रावणपुर पौडाहा क्षेत्रमा भव्यताका साथ ‘सर्वेश्वरी देवी संसारी माता’को मूर्ति स्थापना गरिएको छ । कञ्चनरुप–१२ निवासी समाजसेवी जोडी जितबहादुर श्रेष्ठ र जानुका देवी श्रेष्ठको सक्रिय पहल तथा लगानीमा शनिबार पौडाहा खोलाको तटमा रहेको सामुदायिक वन क्षेत्रमा सो मूर्ति अनावरण गरिएको हो।
धार्मिक विधि र प्राणप्रतिष्ठा
पौडाहा देउराली सामुदायिक वनको शान्त र मनोरम वातावरणमा पण्डित सोमनाथ घिमिरे (कुमार) सहित पुरोहितद्वय उत्तम आचार्य र केदारनाथ भट्टराईले वैदिक विधिअनुसार पूजाआजा गराउनुभएको थियो। यज्ञ, चण्डीपाठ र शंखनादका बीच माताको मूर्तिमा प्राणप्रतिष्ठा गरिएको थियो।

स्थानीय परम्परा र जनविश्वास
स्थानीय समुदायमा वैशाख महिनाका शनिबारहरूमा संसारी माताको विशेष पूजा गर्ने परम्परा छ। वर्षा समयमै होस्, खडेरी नपरोस्, अन्नबालीको रक्षा र समुदायमा सुख-शान्ति होस् भन्ने कामनासहित देवीको पूजा गरिने गरिएको स्थानीयहरूले बताएका छन्।
सप्तरी जिल्लामै संसारी माताको यो पहिलो औपचारिक मूर्ति स्थापना भएको स्थानीयको भनाइ छ।
कार्यक्रममा कञ्चनरुप नगरपालिकाकी उपप्रमुख मुना कुमारी पोखरेलले मूर्ति स्थापनाले नगरको धार्मिक प्रतिष्ठा बढाएको उल्लेख गर्नुभयो। उहाँले यस क्षेत्रलाई आकर्षक धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न नगरपालिकाको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।
त्यसैगरी, पूर्व गाविस अध्यक्ष भरतराज शर्माले हरियाली वन र प्राकृतिक सौन्दर्यका बीच माताको मन्दिर हुनुले भविष्यमा यस क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने विश्वास व्यक्त गर्नुभयो।
प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको संगम यो स्थल अब कञ्चनरुपको नयाँ धार्मिक पर्यटकीय गन्तव्य बन्ने विश्वास गरिएको छ।













