भोजपुर, २१ वैशाख । भोजपुरको आमचोक गाउँपालिकामा प्रहरीले ठुलो परिमाणमा अवैध लागू औषध गाँजा बरामद गरेको छ। जिल्लाको आमचोक गाउँपालिका–८ स्थित एक टहराबाट प्रहरीले ६ सय २२ किलो ३ सय ग्राम गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले वैशाख २० गते सो स्थानमा छापा मारेको थियो।
स्थानीय राम बहादुर श्रेष्ठको जग्गामा रहेको टहराभित्र ३८ वटा प्लास्टिकको बोरामा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खानतलासीका क्रममा ६२२ किलो ३०० ग्राम तयारी गाँजाका साथै १८ किलो ३३४ ग्राम गाँजाको भुस समेत बरामद गरिएको छ।
सो स्थानमा गाँजाको ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले उक्त कारबाही अघि बढाएको थियो।
गाँजा ओसारपसार र बिक्री वितरणमा संलग्न व्यक्तिहरू अहिले फरार रहेका छन्। प्रहरीले उनीहरूको तीब्र खोजी गरिरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिएको छ।












