कञ्चनरूप, ५ असोज । सप्तरीको कञ्चनरूप नगरपालिका–१२ स्थित धर्मेश्वर हस्पिटल प्रालिमा सुत्केरी गराइएका दुई महिलाको मृत्यु भएको घटनाबारे जिल्ला प्रशासन कार्यालय सप्तरीले छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशलाई अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले २०८३ असोज ५ गते मन्त्रालयलाई पत्र पठाउँदै धर्मेश्वर अस्पतालमा भएका दुई छुट्टाछुट्टै घटनाको आवश्यक छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेका हुन्।
प्रशासनका अनुसार अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ बस्ने अमितकुमार चौधरीकी २८ वर्षीया श्रीमती निर्मला चौधरी प्रसूति व्यथा लागेपछि धर्मेश्वर अस्पतालमा ल्याइएकी थिइन्। अस्पतालमै शल्यक्रियामार्फत प्रसूति गराइएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको र थप उपचारका लागि अर्को अस्पतालमा रेफर गरिएको थियो। उपचारकै क्रममा २०८३ असोज ४ गते उनको मृत्यु भएको प्रशासनको पत्रमा उल्लेख छ।
त्यसैगरी भदौ १६ गते सप्तकोशी नगरपालिका–११ रामसागर खड्गाकी २८ वर्षीया श्रीमती पुष्पा खड्का पनि प्रसूति व्यथापछि धर्मेश्वर अस्पतालमा पुगेकी थिइन्। उनको पनि शल्यक्रियामार्फत प्रसूति गराएपछि अवस्था गम्भीर हुँदै गएको र थप उपचारका लागि अर्को अस्पतालमा रेफर गरिएको थियो। उपचारका क्रममा सोही दिन उनको मृत्यु भएको प्रशासनले जनाएको छ।
दुई महिलाको मृत्युको घटनाप्रति गम्भीर चासो देखाउँदै जिल्ला प्रशासन कार्यालयले मृत्युको वास्तविक कारण, अस्पतालको कमी–कमजोरीका कारण मृत्यु भएको हो वा होइन तथा जटिल प्रकृतिका बिरामीको उपचारका लागि अस्पतालसँग आवश्यक अनुमति, पूर्वाधार र विशेषज्ञता छ कि छैन भन्ने विषयमा समेत छानबिन गर्न मन्त्रालयसमक्ष आग्रह गरेको छ।
प्रशासनले घटनाको यथार्थ विवरणसहित आवश्यक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न मन्त्रालयलाई अनुरोध गरेको हो।














