कञ्चनरुप, २३ वैशाख । सप्तरीको भारदहमा गुडिरहेको बस रोकेर चालकमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ बस्ने ३६ वर्षीय बिनेश मण्डल र ३१ वर्षीय अनिल माझी रहेका छन्।
प्रहरीका अनुसार मंगलबार राति करिब १०ः४५ बजेको समयमा मधेश प्रदेश ०३-००२ ख २३७४ नम्बरको ‘निलि AC’ एयर बसलाई भारदह चोकमा रोकी उनीहरूले चालकसँग विवाद गरेका थिए। मादक पदार्थ सेवन गरेका ती व्यक्तिहरूले बस चालक राजेश प्रसाद लुङ्गेलीमाथि हातपात गर्नुका साथै हेल्मेटले प्रहार गरी बसमा क्षतिसमेत पुर्याएको विज्ञप्तिमा उल्लेख छ।
पक्राउ परेका दुवै जनालाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।













