कञ्चनरुप, २३ वैशाख । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत राजविराजबाट कैद र जरिवानाको फैसला सुनाइएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा ठगी मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका तिरहुत गाउँपालिका–५ का दुर्गानन्द झा रहेका छन्। यस्तै, अपराधिक उपद्रव मुद्दामा दुई महिना कैद र ५ हजार जरिवाना ठहर भएका राजविराज नगरपालिका–११ का गुड्डु भन्ने अमरेन्द्र प्रसाद यादव पनि पक्राउ परेका छन्।
प्रहरीले कुटपिट मुद्दाका दुई फरार प्रतिवादीहरू राजविराज नगरपालिका–६ का देव कुमार मण्डल र बिपेन्द्र मण्डललाई पनि नियन्त्रणमा लिएको छ। उनीहरू दुवैलाई अदालतले जनही दुई महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
पक्राउ परेका चारै जनालाई फैसला कार्यान्वयनका लागि बुधबार नै सप्तरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।
अदालतको फैसलापछि फरार रहेका अपराधीहरूको खोजी र फैसला कार्यान्वयनलाई प्रहरीले तीव्रता दिएको छ।













