सुनसरी, २३ वैशाख । सुनसरीको बराहक्षेत्रमा एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी गरिरहेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका छन् । बराहक्षेत्र नगरपालिका २ स्थित सडक खण्डबाट प्रहरीले ठूलो परिमाणको गाँजासहित भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय चतराबाट खटिएको विशेष टोलीले वैशाख २२ गते अपराह्न शङ्कास्पद अवस्थामा रहेको BR 07 PC 4765 नम्बरको एम्बुलेन्सलाई जाँच गरेको थियो। त्यस क्रममा एम्बुलेन्सभित्र प्लास्टिकको बोरामा लुकाएर राखिएको १४८ किलोग्राम गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ पर्नेहरूमा एम्बुलेन्स चालक भारतको बिहार राज्य, सुपौल जिल्लाका धर्मेन्द्र कुमार यादव र सोही गाडीमा सवार मोहम्मद सदाम रहेका छन्। बिरामी बोक्ने एम्बुलेन्स जस्तो संवेदनशील सवारी साधनको दुरुपयोग गरी लागू औषध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई समात्न सफल भएको हो।
प्रहरीले गाँजा र एम्बुलेन्स दुवैलाई नियन्त्रणमा लिएर पक्राउ परेका व्यक्तिहरूमाथि थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको छ।














