कञ्चनरुप, २४ वैशाख । जिल्ला प्रशासन कार्यालय सप्तरीले सेवाग्राहीको सहजताका लागि नयाँ सेवाको सुरुवात गरेको छ। अब राहदानी (पासपोर्ट) बनाउन आवेदन दिएका व्यक्तिहरूले आफ्नो राहदानी हुलाक सेवामार्फत सिधै आफ्नै ठेगानामा प्राप्त गर्न सक्नेछन्।
नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत्र १३ गतेको बैठकले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची को बुँदा नं. २७ बमोजिम यो सेवा कार्यान्वयनमा ल्याइएको हो। सो कार्यसूचीमा सरकारी सेवाहरू नागरिकको घरमै उपलब्ध गराउने उल्लेख छ।
राहदानी कसरी प्राप्त गर्ने ?
जिल्ला प्रशासन कार्यालयका अनुसार, राहदानीका लागि आवेदन दिने समयमै सेवाग्राहीले आफूलाई पायक पर्ने विकल्प रोज्नुपर्नेछ। सेवाग्राहीसँग दुई वटा विकल्प हुनेछन् :
१. राहदानी तयार भएपछि जिल्ला प्रशासन कार्यालयमै आएर बुझ्ने।
२. हुलाक सेवामार्फत आफ्नै घरको ठेगानामा मगाउने।
सम्झौता सम्पन्न
जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला हुलाक कार्यालयबीच यससम्बन्धी औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भई सेवा सुरु भइसकेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नरेश कुमार यादवद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, राहदानी आवेदन गर्दाकै बखत सेवाग्राहीले हुलाक सेवा रोज्न सक्नेछन्। यसले सेवाग्राहीको समय र अनावश्यक झन्झट कम गर्ने विश्वास लिइएको छ।
राहदानी मात्र नभई आगामी दिनमा नागरिकताको प्रतिलिपि र लाइसेन्स जस्ता अन्य सरकारी कागजातहरू पनि हुलाक मार्फत घरमै पुर्याउने सरकारको लक्ष्य रहेको छ। यो सेवा सुचारु भएसँगै अब राहदानी लिनकै लागि फेरि जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य भएको छ।

















