समाचार

सप्तरी प्रहरीद्वारा अपहरण र ज्यान मार्ने उद्योगका ५ फरार अभियुक्त पक्राउ

कञ्चनरुप, २४ वैशाख । सप्तरी प्रहरीले अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दामा संलग्न ५ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार २०८२ साल माघ ४ गते राति करिब ७ बजेको समयमा सिराहाको लहान नगरपालिका वडा नं. १० बस्ने वर्ष ४७ को मो. सदाम र वर्ष ६० को मो. ताहिर मियाँ जग्गा खरिदका लागि सप्तरीको खड्क नगरपालिका वडा नं. ५ खरचुहियास्थित मिना खातुनको घरमा पुगेका थिए ।
सोही क्रममा मिना खातुनसहित ५ जनाको समूहले उनीहरूलाई अपहरण गरी बन्धक बनाएका थिए । साथै उनीहरूसँग रहेको रकम लुटेर गोली हानी घाइते बनाई प्रतिवादीहरू फरार भएका थिए।
पक्राउ पर्नेहरूमा रुपनी गाउँपालिका–५ का ४३ वर्षीय हजरत मियाँ, राजगढ गाउँपालिका–६ का ४५ वर्षीय मन्जिर मियाँ, खडक नगरपालिका–५ खरखडियाकी ४२ वर्षीया मिना खातुन, खडक नगरपालिका–६ बिपुरका ४८ वर्षीय मोहम्मद मुमताज मियाँ तथा सुरुङ्गा नगरपालिका–३ का ३५ वर्षीय उपेन्द्र मोची रहेका छन् । । फरार रहेका उनीहरूलाई वैशाख २३ र २४ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका मध्ये मोहम्मद मुमताज मियाँमाथि विभिन्न मितिमा १३ वटा ठगी सम्बन्धी मुद्दा रहेको छ । त्यस्तै उपेन्द्र मोचीमाथि ज्यान सम्बन्धी कसुरको मुद्दा समेत रहेको प्रहरीको अपराध अभिलेख प्रणालीमा उल्लेख छ ।
पक्राउ परेका पाँचै जनालाई सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिएका छन् ।

   

You cannot copy content of this page